दुईपोखरी पुनर्निर्माण सुरु, तीन वर्षमा सकिने
प्रकाशित मिति
२०७६ फाल्गुन ९ गते, शुक्रबार ०१:०९
भक्तपुर, जिर्णरुपमा रहेको मध्यपुरथिमि नगरपालिका–४ स्थित ऐतिहासिक दुईपोखरी संरक्षणका लागि पुर्णनिर्माण सुरु भएको छ । दुईपोखरी संरक्षणको पहिलो चरणमा कालोमाटो बिछ्याउने काम सुरु भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सुरुमा ६ इन्च कालोमाटो, ३ इन्च पाँगो माटो र पुनः ६ इञ्च कालोमाटो गरी १५ इन्च माटो बिछ्याएपछि इँटा सोलिङ गरेर पानी राखिने छ ।

यस पोखरी संरक्षणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले १ करोड २५ लाख र वाग्मती प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पोखरी संरक्षणका गर्न स्थानीय उपभोक्ता समिति समेत गठन गरी पुनर्निर्माण थालिएको नगरप्रमुखले बताउनुभयो । आकाशेपानी संकलन गरेर प्रशोधन गरेपछि दुईपोखरीमा पानी भर्ने प्रस्तावअनुरूप पुनर्निर्माण सुरु भएको उहाँले बताउनुभयो ।
मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने नगरपालिकाको योजना छ ।

दुईपोखरी संरक्षण पुनर्निर्माणका लागि नगरपालिकाले करिब १५ करोडको लागत इस्टिमेट तयार गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । तीन वर्षमा पुनर्निर्माण सकिने गरी पुर्ण निर्माणको थालनी गरिएको उहाँले बताउनुभयो । हाल ६ वटा फल्चा रहेको पोखरीमा ८ फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रको रुपमा दुईपोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।



प्रतिकृया