देशैभरि कफी कोरोना, उत्पादन ४० प्रतिशतले घट्ने
प्रकाशित मिति
२०७६ फाल्गुन ९ गते, शुक्रबार ०८:१४
पोखरा । राष्ट्रिय उत्पादनमा गण्डकीबाट २८ प्रतिशत योगदान दिने नगदेबाली कफीको यस वर्षको उत्पादन ४० प्रतिशतले घट्ने भएको छ । राष्ट्रिय कफी विकास बोर्डले नै यसको प्रक्षेपण गरिसकेको छ । बोर्डको भनाइ छ, “नौ लाख किलो फ्रेस चेरीमध्ये यस वर्ष पाँच लाख ४० हजार किलोभन्दा कम उत्पादन हुने प्रक्षेपण गरेका छौँ ।”
गण्डकीका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा अहिले कफी खेती हुँदै आइरहेको छ । मुख्य सिजनमा नै कफीमा समस्या देखिएपछि उत्पादन घट्नेमा बोर्ड चिन्तित बनेको छ । मुलतः पुस, माघ र फागुन महिना कफी उत्पादनका लागि मुख्य सिजन हो । यो समय कफीका दाना पाक्ने र टिप्ने समय पनि हो ।
तर, पछिल्ला दुई सातायता टिप्न ठिक्क परेका दाना एकाएक ओइलाएका छन् । कफीका पात ओइलाउने, मर्ने, झर्ने, हाँगा सुक्ने, बोटमा रहेका फल सुक्ने र बोट नै मर्ने समस्या देखापरेको छ । यो समस्या गण्डकीमा मात्र नभई कफी उत्पादन हुने देशका २३ वटा जिल्लामा नै देखापरेको छ ।

माछापुच्छ्रे उत्तम कफी सहकारीका अध्यक्ष कुलाधर भुगाइले दुखेसो पोखे, “चीनमा भाइरस आए जस्तै नेपालमा पनि कफी भाइरस आएको कारण किसान समस्यामा परेका छन्, लागेको फल रातो भएर पाक्छ अनि टिपौँला भनेर बसेका किसानले न फल टिप्न पाएका छन्, न बोट नै जोगाउन, फल पनि सेतो भएर सुक्ने गरेको छ, बोट पनि सुक्ने गरेको छ ।”
उक्त वडामा मात्रै ६१० रोपनी क्षेत्रफलमा कफी खेती हुने गरेको छ । संस्थागत कफी खेती यहाँ २०६३ देखि नै हुँदै आएको छ । कफी लगाउन सुरु गरेको करिब १३ वर्षको अवधिमा पहिलोपटक यो समस्या देखिएको उनले बताए ।
अघिल्लो वर्ष २० हजार कफीका बिरुवा रोपेका त्यहाँका किसानले यो वर्ष ३० हजार बिरुवा लगाएका थिए । तर, अहिले कफी खेती गर्ने किसानको अवस्था दयनीय छ । कफीको बिमा पनि छैन । बिमाका लागि पाँचसय बगान हुुनपर्ने भनेपछि त्यहाँ किसानले बिमा पनि गर्न पाएनन् ।
अध्ययनपछि टोलीले यसलाई कफीको कोरोनासँग तुलना गरेको छ ।
पुरी भन्छन्, “कफीका बोट मात्रै नभएर यस वर्ष रोप्नका लागि तयार भएका कफी नर्सरीका बिरुवामा पनि ५० प्रतिशत क्षति पुगेको देखिन्छ जसबाट यस वर्ष कफी रोपणका लागि गुणस्तरीय बिरुवा सँगसँगै नर्सरीका लागि बिउ तयार गर्न पनि कठिन परेको छ जसबाट हजारौं कफी कृषकहरू मारमा परेका छन् । अन्य वर्षभन्दा यस वर्ष महामारीकै रूप लिएको यसलाई धेरै कृषकले कफीमा कोरोना भाइरससँग तुलना गरेका छन् ।”

कफीको फरक जात, भएका कारण पनि प्रकोप देखिएको हुनसक्ने उनको तर्क छ । उत्पादनमा व्यापक गिरावट आउने भएका कारण यो वर्ष कफी संकट वर्ष नै घोषणा गर्नुपर्ने उनको भनाइ छ । अध्ययन टोलीले मौसमी प्रभावका कारण समस्या आएको हुनसक्ने औंल्याएको छ ।






प्रतिकृया