• २० भदौ २०८३, शनिबार
  • ५ः२७ बिहान

तथ्यांकमा समेटिँदै विदेश जानेहरुको संख्या

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार ०२:३०

काठमाडौं । विगत एक दशकदेखि नेपाली अर्थतन्त्रलाई एक तिहाई योगदान पुर्याएका वैदेशिक रोजगारीमा रहेका र गएका नेपालीको संख्या कति ? धेरैले पटक–पटक यो प्रश्नको उत्तर खोजे पनि पाउन सकेका छैनन् । तर अब यो प्रश्नको उत्तर सजिलै पाइने वैदेशिक रोजगार विभागले बताएको छ । विभागको तथ्यांक अनुसार विगत २० वर्षको अवधिमा ६३ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यस अघि देखि कति नेपाली वैदेशिक रोजगारीमा थिए ? कति उतै घरजम गरेर बसे ? सरकारी तथ्यांक प्रणाली बलियो नहुँदा त्यसको एकिन छैन । नेपालीको वैदेशिक रोजगार यात्राले ८ सय वर्षको लामो अवधि पार गरेको मानिन्छ ।

National Life

वैदेशिक रोजगार विभागले सन् २००० को अप्रिल २९ देखि हालसम्म करिब ६३ लाख नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको तथ्यांक सार्वजनिक गरेपछि वैदेशिक रोजगारीमा रहेका नेपालीको वास्तविक संख्या प्रति धेरैको चासो बढेको छ । तर उनीहरु सबै विदेश मै कार्यरत रहेका छन् त ? यसको जवाफ भने विभागसँग छैन ।विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालका अनुसार श्रम स्वीकृति वाहेक भिजिट भिसा, विजनेश भिसा, विद्यार्थी भिसा, आश्रित भिसा लगायतका भिसा लिएर गई उतै काम गर्ने नेपालीहरूको तथ्यांक सरकारसँग छैन । त्यस्तै रोजगारीका लागि भारत जानेको पनि तथ्यांक सरकारसँग छैन । त्यसैले अहिले वैदेशिक रोजगारमा ४५ लाख नेपाली कार्यरत छन् भन्ने कुरा तथ्यांक नभई मिथ्यांक बढी हो ।

वैदेशिक रोजगार विज्ञ समाजशास्त्री डा. गणेश गुरुङको टिप्पणीलाई आधार मान्ने हो भने सन् १२०० को सुरुवाततिर कलाकार अरनिको चीन र बलभद्र कुँवर लाहोरका शासकको फौजमा भर्ती भएपछि नेपालको वैदेशिक रोजगारको इतिहास शुरु भएको हो । तर २०४६ सालको परिवर्तन पछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारका पालामा सबै नेपालीलाई राहदानी सहजतापूर्वक उपलब्ध गराउन थालेपछि आम नेपालीको पहुँचमा वैदेशिक रोजगार आएको हो । डा. गुरुङका विचारमा २०४६ साल पछि झन्डै ४० लाख नेपालीहरू रोजगारीका लागि विदेशी भूमिमा गएका छन् ।

Classic Tech Desktop

विदेशमा रहेका नेपालीहरुको हक हितमा आवाज उठाउँदै आएको गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले पनि कति नेपाली विदेशमा रहेका छन् भन्ने स्पष्ट बताउन सकेको छैन । विश्वका ७१ मुलुक वा स्थानहरुमा राष्ट्रिय समन्वय परिषद्हरु गठन गरी विश्वव्यापी सञ्जाल बनाएको उक्त संघ र सरकारी निकायहरुले विदेशमा रहेका नेपालीहरुको संख्या एकिन गर्न नसक्दा विदेशमा रहेका नेपालीलाई कसले समेट्छ भन्ने प्रश्न अनुत्तरित रहने गरेको छ ।

वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स नेपालको बाह्य व्यापार सन्तुलन प्रमुख आधारको रुपमा रहँदै आएको छ । विगत दश वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको औसत अनुपात २५ प्रतिशत भन्दा माथि रहेको छ । हुण्डी लगायत अनौपचारिक श्रोतबाट आउने रकमको अंश जोड्दा रेमिट्यान्सको योगदानको प्रतिशत ३० भन्दामाथि जाने गरेको छ । त्यसले नेपालको गरिबी न्यूनीकरण लगायत सामाजिक विकासमा उल्लेख्य सुधार समेत ल्याएको छ ।तर वैदेशिक रोजगारीमा रहेका नागरिकको संख्या कति हो भन्ने एकिन हुन नसक्दा सरकार उनीहरुले आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधिलाई नेपालको आर्थिक र सामाजिक विकासमा लगाउन चुकिरहेको विज्ञहरुको विश्लेषण छ ।

प्रतिकृया