शुक्रराज ट्रपिकल अस्पतालको ८६औं वार्षिकोत्सव समापन
प्रकाशित मिति
२०७६ माघ ११ गते, शनिबार १०:५५
काठमाडौं । शुक्रराज अस्पतालले शुक्रबार आफ्नो ८६औं वार्षिकोत्सव मनाएको छ। ८६ वर्ष पुरानो अस्पतालले ४५ वर्ष पुरानो जीर्ण भवनमा सेवा दिइरहेको छ।

सरुवा रोगसम्वद्ध मुलुकको एक मात्र केन्द्रीय अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल हो। आजभन्दा ८६ वर्ष पहिले यो अस्पतालको स्थापना भएको थियो। विसं १९९० सालमा कलेरा अस्पतालको नाममा यसको जन्म भए पनि २०५३ साल माघ ११ गतेदेखि शुक्रराज अस्पतालमा परिणत भयो।

वार्षिकोत्सवका अवसरमा अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल निर्देशकले हालको अस्पतालको मुख्य भवन स्थानान्तरण गर्नुपर्ने माग उठाए।
स्वास्थ्य राज्यमन्त्री नवराज रावत र स्वास्थ्य सचिव खगराज बराललाई निर्देशक डा पाण्डेले घना वस्तीमा अस्पताल भएकाले सरुवा रोगको जोखिम निम्तन सक्ने भन्दै अस्पतालले स्थानान्तरणको माग राखेका हुन्।
राज्यमन्त्री रावतले ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्यका पहुँचमा ल्याउन आवश्यक रहेको बताए। उनले अस्पतालका समस्या समाधानका लागि मन्त्रालय सकारात्मक रहेको जानकारी दिए।
स्वास्थ्य सचिव बरालले नयाँ नयाँ संक्रामक रोग देखिरहेका कारण अस्पतालको सेवा थप विशिष्टकृत बनाउन आवश्यक रहेको बताए।
शुक्रराज अस्पतालमा बिरामीको चाप वर्षेनी बढ्दो छ। अस्पतालको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा ३ लाख ८१ हजार ८४ जनाले ओपिडी सेवा लिएका छन्। वार्षिक तथ्यांक नियाल्ने हो भने आर्थिक वर्ष २०७१र७२ मा ३१ हजार ७ सय ७० जनाले सेवा लिएका छन्।
आर्थिक वर्ष ७२र७३ मा ५१ हजार २ सय २, आर्थिक वर्ष ७३र७४ मा ६५ हजार २ सय ५, आर्थिक वर्ष ७४र७५ मा ९४ हजार ४ सय ७७ र आर्थिक वर्ष ७५र७६ मा १ लाख ३ हजार ३ सय ५० जनाले ओपिडीबाट सेवा लिएका छन्। इमरजेन्सीबाट भने पछिल्लो पाँच वर्षमा ३० हजार ९ सय १० जनाले सेवा लिएको अस्पतालको तथ्यांक छ ।
बिरामीको संख्या वर्षेनी बढ्दै गएपनि स्थान अभावका कारण शय्या र सेवा बढाउन नसकिएको अस्पतालले बताएको छ।




प्रतिकृया