खेलाडी कुशल मल्ल क्रिकेटमा विजयी
प्रकाशित मिति
२०७६ पुष २१ गते, सोमबार १२:१५
युवा खेलाडी कुशल मल्लको अर्को उत्कृष्ट ब्याटिङ प्रदर्शनमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा आर्मीले अर्को विभागीय टोली एपिएफलाई १०८ रनको अन्तरले पराजित गर्यो । जितसँगै आर्मीले प्रतियोगिताको समूह एमा महत्वपूर्ण दुई अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत समूह एको यो पहिलो खेल हो । इनरुवा क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ सुरु गरेको आर्मीले ४६ ओभरमा सबै विकेट गुमाउनुअघि २८१ रनको योगफल तय गरेको थियो ।
प्रत्युत्तरमा एपिएफ ३९,३ ओभरमा मात्रै १ सय ७३ रनमै समेटिन पुगेको थियो । आर्मीको जितमा कुशलले शतकीय योगदान दिए । उनले ६३ बलमै १११ रनको शतकीय इनिङ्स खेले । जसमा उनले १३ छक्का र ५ चौका प्रहार गरेका थिए । खेलमा आर्मीको सुरुवात गतिलो भएन । स्कोर बोर्डमा ३७ रन जोड्दा पहिलो विकेटको रूपमा प्रारम्भिक ब्याट्सम्यान राजु रिजाल ९ लाई गुमाएको थियो । त्यसपछि आएका हरिबहादुर चौहान खाता खोल्नुअघि नै आउट भएपछि आर्मीको इनिङ्स धरमराएको थियो ।आर्मीका कुशल मल्लले केवल ६३ बलमा १११ रनको योगदान दिँदा १३ छक्का र पाँच चौका प्रहार गरे
मध्यक्रम ब्याटिङ जिम्मेवारी सम्हालेका कुशलले खेलको माहोल नै परिवर्तन गरिदिए । सुरुवातमा केही सम्हालिएर ब्याटिङ गरेका कुशलले ३१ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि आक्रामक रूपमा प्रस्तुत भएका उनले थप २२ बलमा शतक पूरा गरेका थिए । उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु क्रिकेटमा गरेको प्रदर्शनका आधारमा सिनियर राष्ट्रिय टोलीको ढोका खोलिसकेका कुशलले यो प्रदर्शनबाट फेरि पनि आफूलाई प्रमाणित गरेका छन् ।
उनले तेस्रो विकेटका लागि अनिलकुमार मण्डल ४१ सँग ८५ रनको साझेदारी गरेका थिए । यस्तै, चौथौ विकेटका लागि रोहितकुमार पौडेल २६ सँग ७२ रनको साझेदारी गरेका थिए । अनिलले आफ्नो इनिङ्समा ४ चौका तथा रोहितले २ चौका प्रहार गरे । उनीहरूबाहेक राजेश पुलामी मगरले २४ बलमा ३८ रन र विक्रम सोबले १४ रन जोडे । म्यान अफ दी म्याच चुनिएका कुशलले बलिङमा पनि दुई विकेट लिए ।
चार ओभर बलिङ गरेका कुशलले एक मेडन सहित २४ रन खर्चिएका थिए । उनीपछि शहब आलमले चार विकेट लिएपछि एपिएफको इनिङ्स ध्वस्त बनेको थियो । एपिएफका लागि पृथु बाँस्कोटाले ३६, शंकर रानाले ३२ तथा सुमित महर्जन र सन्दीप महर्जनले समान २३ रन जोडे । प्रदीप ऐरीले २१ र कप्तान वसन्त रेग्मीले १७ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । एपिएफले पहिलो ओभरबाटै विकेट गुमाउन सुरु गरेको थियो ।
एपिएफले प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखलाई खाता खोल्नु अघि नै गुमाएको थियो, जुन वेला टोलीले स्कोरबोर्डमा रन जोड्न सकेको थिएन । त्यसपछि शंकर र प्रदीपले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरेपछि टोलीको इनिङ्स केही उकासिएको थियो । त्यसपछिका खेलाडीबीच गतिलो साझेदारी बन्न सकेन । ९ ओभर बलिङ गरेका शहबले एक मेडन निकाल्दै ३१ रन मात्रै खर्चिएका थिए । बलिङतर्फ आर्मीका वसन्त रेग्मीले पनि चार विकेट लिएका थिए । यद्यपि, उनको यो प्रदर्शन टोलीलाई हारबाट जोगाउन पर्याप्त बनेन ।






प्रतिकृया