• २० असार २०८३, शनिबार
  • ५:३० बेलुका

हरेक पत्रकारले आर्थिक र भौतिक सुरक्षा तथा सम्मानजनक पहिचानका साथ जीवन यापन गर्नसक्ने माहोल सिर्जना गर्नुपर्छ : अध्यक्ष बुढाथोकी

प्रकाशित मिति

२०७६ पुष १७ गते, बिहीबार १०:२०

यतिबेला अरुको बढी चर्चा गर्ने नेपाली पत्रकारिता जगत आफैं चर्चाको हट केक बनेको छ । यसको कारण हो सरकारले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी ल्याएका मिडिया काउन्सिल बिधेयक लगायत बिभिन्न बिधेयक, ऐन र कानुन । केन्द्र,प्रदेश र स्थानीय तीनै तहका सरकारले नियम कानुन बनाउने क्रममा संबिधानको प्रस्ताबनामै उल्लेखित प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी अघि बढिरहेको भन्दै संचार क्षेत्रमा चिन्ता र चासो छाएको छ । यसै परिप्रेक्षमा पत्रकारिता र पत्रकारको अबस्थाका बिविध बिषयमा केन्द्रीत रहेर नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीसँग गरिएको कुराकानीको सार :

अहिले नेपालमा पत्रकारिताको अबस्था कस्तो रहेको छ ?

Kamana Sewa

नेपालमा पत्रकारिता जगतको अबस्था तुलात्मक हिसाबले ठिकै भएता पनि पुर्ण सन्तुष्टि हुने ठाउँ छैन । र यस मानेमा नेपालको पत्रकारिता क्षेत्र जुन रुपले मजबुत हुनुपर्ने हो त्यो हुन सकेको छैन ।एउटा पत्रकारले यहि क्षेत्रमा रहेर पुर्ण रुपले आर्थिक र भौतिक रुपमा सुरक्षा महसुस गर्न सक्ने अबस्था अझै बन्न सकेको छैन । समग्र रुपमा पत्रकारिता क्षेत्रलाई अझ बलियो, सशक्त बनाएर राष्ट्रको पहरेदारको रुपमा अगाडी उभ्याउने हाम्रो चुनौति रहेको छ ।

Classic Tech Desktop

यसलाई कसरी मजबुत बनाउन सकिन्छ होला ?

नेपालको संविधानको प्रस्तावनामा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ । तर व्यावहारिक ढङ्गबाट त्यो देख्न पाइदैन । यो कुराले नेपाली पत्रकारको समस्या झल्काउँछ । नेपाली पत्रकारहरु बलियो हुन सकेका छैनन् । न्युनतम पारिश्रमिक पाउँने सबै पत्रकारको हक भएता पनि पाउन सकेको छैन । त्यसैले हाम्रो सरकारसँग लामो समय देखि माग रहेको छ, सबै पत्रकार,जो मुलभुत रुपमा पत्रकार भनेर चिनिन्छन् उनीहरुले न्युनतम पारिश्रमिक पाउनु पर्छ र पत्रकार स्वयम् पनि यस विषयमा सचेत हुनुपर्छ । सरकारले पत्रकारिता क्षेत्रलाई सेवा उद्योको रुपमा स्थापना गर्नुपर्छ भन्ने माग गरेका छौ । तर पनि यो मागले पुर्णता पाउन सकेको छैन । ठुला मिडियाले आफ्नो पहुँचको हिसाबले मात्र विज्ञापन पाउने नभएर सबै मिडियाको विज्ञापनमा समानुपातिक नितिका साथ पहुच हुनुपर्छ ।राज्यको तीनै तह केन्द«, प्रदेश र स्थानियस्तरबाट समानुपातिक ढङ्गले सबै मिडियाले विज्ञापन पाउनुपर्छ न कि पहुँचको कारणले फरक व्यावहार देखियोस् ।

काडमाडौँको परिपे्रक्षमा रहेर हेर्दा पत्रकारिताको वर्तमान स्थिति कस्तो देख्नुहुन्छ ?

काडमाडौँ देशकै राजधानी भएको हिसाबले गर्दा पनि पत्रकार मात्र नभएर सबै क्षेत्रको आकर्षणको थलो मानिन्छ । पत्रकारिताको विषयमा भन्नु पर्दा विश्वविद्यालयको पत्रकार उत्पादन केन्द« नै यही भएकोले राजधानि महत्तवपुर्ण स्थल रहेको छ । स्नातकोत्तोर माथिको अध्ययन हुने स्थान पनि राजधानी नै हुने र नेपालका महत्वपूर्ण मिडियाहरु टि.भि, रेडियो र अनलाइन सबै क्षेत्रको पत्रकारहरु अभ्यास पनि यही गर्दै आएका छन् । अब्वल पत्रकारहरु पनि राजधानि मै भेटिन्छन् । त्यसैले पत्रकार महासंघले संगठित प्रयास गरेर उपत्यका प्रदेशलाई छुट्टै एउटा पत्रकार महासंघ उपत्यका भनेर गठन गरिएको छ । अहिले उपत्यका कार्यसमिति बनेर यसले काम पनि गरिरहेको छ ।

पत्रकारले न्युनतम तलब तोकिएको मध्य कति मिडियाहरुले यसलाई लागु नगरेको भन्ने आको छ नि, के लाग्छ तपाईलाई ?

यसलाई दुइ तरिकाले हेर्न सकिन्छ । एउटा राज्यको तहबाट प्रावधान मिलाइनु पर्छ ।अर्को पत्रकार आफै चनाखो हुनपर्छ । बर्तमान स्थितिमा ठुला मिडिया हाउस भनेर चिनिने मिडिया भित्र पनि न्युनतम पारिश्रमिक नदिइएको पाइन्छ । बानी र पानी माथिबाट तलतिर बग्छ भन्ने जुन भनाइ रहेको छ त्यही अनुसार माथिल्लो तहबाट अर्थात सरकारी र ठूला मिडियाबाट कार्यन्वयन हुनुपर्छ । ठुलो मिडियाले दिन नसकेर होइन नचाहेर हो भन्ने लाग्छ । हरेक पत्रकारले आफै पनि आफ्नो अधिकार जुधेर लिन सक्नुपर्छ । सबै पत्रकारहरु एक भएर माग गर्ने हो भने अबस्य पनि यस समस्याको हल हुन्छ भने पक्षमा म छु । किनकी कुनै पनि मिडिया हाउस पत्रकार बिना चल्न सक्दैन । अर्को राज्यको नीति सबैले अपनाउनु पर्छ । हरेक मिडियालाई समान व्यवहार गरेर विज्ञापन नीतिमा पनि उतिकै अधिकार पाउनु पर्छ । मिडिया क्षेत्रले संसदबाटै सुविधा प्राप्त गर्नुपर्छ। संसद भनेको सबैकोे साझा थलो हो ।त्यसो भएको कारण त्यो मार्फत हामी बजेटको कुरा आउनु पर्छ भनेर राज्यसंग माग गरेका छौँ । र अहिले मिडिया काउन्सिल विद्येयक आइरहेको सन्दर्भमा त्यसमा पनि यो कुरा समावेश होस् भन्ने हाम्रो अभिप्राय हो ।

तपाइलाई पत्रकार सुरक्षाका निम्ति के कुराहरुमा ध्यान दिनु पर्छ जस्तो लाग्छ ?

मुलभुत रुपमा राज्यले पत्रकारको सुरक्षा गर्नुपर्छ र दिने सम्मको कुरा आएता पनि कार्यान्वयन हुनसकेको छैन । संविधानमा प्रेस स्वतन्त्रता लेखेर मात्रै हुदैन ।पत्रकारको कर्म गर्दैगर्दा आफैले पनि आफ्नो सुरक्षाको विषयमा सर्तक रहनु पर्छ । अभाव, दवाव र प्रभाव भन्दा माथि रहेर वास्तविकता र सत्य तथ्यलाई पुष्टि गर्न पाउनुपर्छ पत्रकारले। भ्रम र षड्यन्त्रलाई चिरेर सहि जानकारी दिनु पत्रकारको दायित्व हो । त्यो वातावरण राज्यले सिर्जना गरिदिनु पर्छ । अपराधीलाई चिनाउने प्रक्रियामा हामी शत्रु हुन पुग्छौं त्यसैले पनि पत्रकार व्यवसायमा लागिसकेपछि चनाखो हुन जरुरत छ । पत्रकारले आचार संहिताको पनि पालना गर्नुपर्छ । मनको भडास पोख्ने ठाउँ बनाउने गलत प्रद्धतिलाई त्याग गरी सत्य तथ्यलाई उजागर गर्नु पत्रकारको पहिचान हो । अरुलाइ खबरदारी गरीरहदा आफु कतिको सहि छु भनि मुल्याङकन गर्न जरुरी छ ।

अनलाईन मिडियाहरु अधिक संख्यामा संचालन छन्, के सबै प्रेस काउन्सिलबाट मान्यता प्राप्त छन् ?

आजको परिवेशमा रहेर कुरा गर्दा अनलाइन मिडियालाई न्यू मिडियाको रुपमा चिनिन्छ । यसको कारणले संसार मुठिमा अट्न सफल भएको छ ।आज हामी एक ठाउँमा रहेर विश्व भरको खबर पाउन सक्छौँ । अबको दिनमा यसको भविष्य उज्वल पनि छ । तर यसको सहि प्रयोग भन्दा पनि अलिकति आउट अफ ट्रयाक गए जस्तो अनुभुति भएको पक्कै छ । त्यसकारण यसलाई व्यवस्थापन गर्नका निम्ति दर्ता गर्नुपर्ने अनिवार्य गरिएको छ । सँगै आचार संहिताको पालना गरेर अघि बढ्नुपर्छ । रेडियो, टेलिभिजन, पत्रिका जस्तै अनलाइन मिडिया पनि जनता माझ सूचना प्रवाहका निम्ति भएको हुनाले समान नियम लागु हुनुपर्छ । न्यु मिडियाले पनि समानुपातिक ढङ्गबाट राज्यको सुबिधा पाउनु पर्छ ।
बाढी आएको बेला माछा सँगै भ्यागुता पनि आउँछन् भने जस्तै यति बेला अनलाइन मिडियाको पनि बाढी आएको छ । यसको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । खोला बग्ने क्रममा सङ्लो भए जस्तै यसलाई पनि निति नियम लागु गरि यसको समग्र पक्षमा शुद्धिकरण ल्याउनु पर्छ ।सहि बाटोमा ल्याउने प्रयास जारी छ । जसरी अरु मिडियामा काम गर्ने तरिका रहेको छ त्यसरी नै अनलाइनलाई पनि लान जरुरी छ । मिडिया संचालक, सरकार र पत्रकार मिलेर यसलाई सुधारको बाटोमा लानुपर्छ ।

अनलाइनको सन्दर्भमा पाठक,स्रोता वा दर्शक के भन्ने ?

पत्रिकाको पढ्नेलाई पाठक,रेडियोको सन्दर्भमा स्रोता, टेलिभिजनको सन्दर्भमा दर्शक भनिन्छ भने अनलाइनको सन्दर्भमा सवै भन्नु सान्दर्भिक हुनेछ । अनलाइनबाट हेरेर पढ्ने हिसाबले पाठक पनि भन्न सकिन्छ । यो पढ्न, देख्न सँगै सुन्न पनि सक्ने भएकोले यसलाई यहि भन्ने प्रश्न भन्दा पनि गर्ने काम भनेको एउटै हो । सूचना र समाचार सम्प्रेसन गर्ने, जिम्मेवारी बोध गर्ने कुरा हो । त्यसैले यसलाई बहसको पाटोमा लानु भन्दा पनि यसबाट कतिको भुमिका निर्वाह गर्नसक्छौँ भन्ने अहम् प्रश्न हो भन्ने मलाइ लाग्छ ।

के अनलाइनको प्रभाव अरु मिडिया भन्दा बढि परेको हो ?कारण के हो ?

अहिले त्यस्तो देखिएको छ ।म आफै पनि तुलात्मक हिसाबले टेलिभिजन र पत्रपत्रिका कम हेर्न थालेको छु,एफ,रेडियो कम सुन्न थालेको छु । किनकि अनलाइनबाट नै चाहेको समाचार तुरुन्त र आफ्नो समय अनुकुल पाइन्छ । तर पनि सबैको आफ्नो महत्व हुन्छ भन्नेमा म विश्वास राख्छु ।त्यसैले हरेक मिडियाको आफ्नै महत्व छ ।

सरकारले मिडियाहरुलाई क,ख,ग वर्गिकरणमा लैजाने विषयमा तपाईहरुको माग के रहेको छ ? प्रेस काउनसिलमा तपाईहरुले ताला बन्दि गर्नुको अभिप्राय के थियो ?अहिले किन सहमति भयो ?

सरकारले मिडियाहरुलाइ वर्गीकरण र यसकै आधारमा सहुलियत प्रदान गर्दै आएको छ । त्यसो त यस विषयमा दुइवटा बहस पनि चलिरहेको छ । एक राज्यको पैसा लिएपछि हामी केहि हदसम्म सरकार प्रति उत्तरदायी हुनपर्छ भन्ने पनि छ ।त्यसैले हामी सरकारद्धारा नआएर संसदद्धारा सुबिधा आउनुपर्छ भनिरहेका छौं।
संसद भनेको साझा थलो हो त्यसैले प्रत्यक्ष रुपमा सरकार प्रति उत्तरदायी हुनपर्छ भन्ने छैन । देश र जनताप्रति हुने हो ।त्यो सुविधा उपलब्ध गराउँने सम्बन्धमा भएको पत्रपत्रिका बर्गिकरणको बिषयमा हामी प्रेस काउन्सिलमा आन्दोलन र तालाबन्दी गर्न पनि बाध्य भयौँ । त्यसको कारण भनेको काउन्सिल शुद्ध,निष्पक्ष र पारदर्शिता हुनपर्छ भन्ने हो । कतिपय सन्दर्भमा प्रेस काउनसिलबाट आग्रह पुर्वाग्रह राखेर पत्रिका बर्गीकरण गरिएको देखियो ।

राम्रो श्रेणीमा परेका पत्रकार ,मिडियाकर्मीहरु खुशी र सन्तुष्टि छन् ,ठिकै छ। बाँकि अन्यायमा परेको मिडियाहरुलाई उचित न्याय दिनुपर्छ । राज्यको दायित्व भनेको अझ भुइ बर्गको या तल्लो तहको मिडियालाइ सशक्तिकरण गराउन हो ।नेपालमा हिजोको दिन सम्म ब्रोडसिट नभएको अबस्थामा यहि साना साप्ताहिक पत्रिका नै पत्रकारिताको विश्वविद्यालयको रुपमा रहेका थिए ।साप्ताहिक पत्रिका नै सुचनाको स्रोतको रुपमा थियो । इतिहास भनेको यिनै साना मिडियाबाट स्थापित भएको हो ।

हाम्रो माग भनेको जस्ले पत्रकारिता क्षेत्रलाइ लामो समय देखि योगदान दिएको छ र गर्वान्वित गराइ रहेको छ तिनलाई सम्मान गनुपर्छ भन्ने हो । अर्को कुरा भनेको जो कमजोर छ उस्लाइ सशक्तिकरणको बाटोमा ल्याउनु पर्छ भन्ने हो । ती पत्रकारलाइ कपी पेस्ट पत्रकारिता गरिरहेको भनि आरोप लगाएर चिनाउने होइन बरु सचेत गराएर आचारसंहिता भित्र रहेर काम गराउन प्रोत्सान गर्नुपर्छ भन्छौ । हाम्रो मागमा केन्दि«त रहेर कुरा गर्दा यति हो कि पत्रपत्रिकालाई बर्गीकरण गर्दा न्यायिक किसिमले हुनुपर्छ र त्यही अनुसार राज्यले सुविधा उपलब्ध गराउनुपर्छ भन्ने हो । नयाँरुपमा आएका अनलाइन मिडियालाइ पनि आचारसंहितामा बाध्ने, दर्ता गराउने, बर्गीकरणमा छुट्याउने, सुविधाहरु दिनुपर्छ भनेर माग गरेका हौं ।
सहमति :
हाम्रो देश भनेको नै धेरै योजनाहरु, सम्झौताहरु कागजमा लेखेर कार्यन्ययनमा आउन नसकेको देश हो । लिखित रुपमा माग पुरा गर्ने काउन्सिलसँग सहमति भएको छ । यी कुराहरुमा नियमित संवाद,बहस र सहकार्य गरेर अघि बढ्ने कुरामा सहमति भएको हो । तर यदि भोलिको दिनमा प्रेस काउनसिल ब्याक भयो भने अथवा सहमति अनुरुप कार्यन्वययन भएन भने हामी फेरि पनि आन्दोलनमा ओर्लिने छौ । अन्याय भएका पत्रपत्रिकाहरु को निम्ति पुर्नमुल्याङकन फारम भर्ने समय थप गरी भर्न दिएर न्याय दिलाउने मा सहमति भएको छ ।

अहिले मिडिया काउनसिल विधेयक कहाँ पुग्यो ?

पत्रकारिता क्षेत्रको अहिलेको बढी चर्चामा आएको बिषय भनेकै मिडिया काउनसिल विधेयक हो । जो विधेयकले एउटा यस क्षेत्रलाई मानकका रुपमा अगाडी कसरी लग्ने ,पछाडी कसरी धकेल्ने भन्ने योजना गर्छ । यो भनेको बहसको बिषय पनि हो । हामी नेपालका सबै आमसंचार क्षेत्र, मिडिया, पत्रकारहरु सबै कुन दायराभित्र बाधिने, कुन कसिमा बाधिने भन्ने कुरा यसले निर्धारण गर्छ । त्यसकारण यो हाम्रो लागि एकदमै महत्तवपुर्ण थियो र छ ।

त्यो महत्तवपुर्ण हुदाहुदै पनि सरकारले राष्ट्रिय सभागृह मार्फत प्रेस काउनसिल बिधेयकलाई आगाडी बढायो । बढाउँदै गर्दा पुर्ण प्रेस स्वतन्त्रतालाई यसले कुण्ठित गर्न खोज्यो । एउटा पत्रकारले समाचार लेख्दा गल्ति गरेको भरमा लामो जेल सजाय र ठुलो आर्थिक शुल्क तिर्ने सजाय परिकल्पना गर्यो । हामीले के भन्यौ भने पत्रकार क्षेत्रले पाउँने सजाय भनेको मानहानि र गालि बेज्जतिको मात्र हो । त्यस कारणले यो फोजदारी मुद्दा नभएको हुनाले पत्रकारलाई यो मुद्दा नलगाएर प्रेस काउनसिल मार्फत पत्रकारिताको मुद्दा नै लाउनुपर्छ भन्ने भनाइ हो ।

यस विषयमा पत्रकार महासंघले देशव्यापी आन्दोलन पनि गरेको छ । सरकार बाध्य भएर फेरि पनि छलफल भए पश्चात सच्याएर मिडिया काउनसिल विधेयक ल्याउने निर्णय भएको हो । राष्ट्रियसभाको उपसमितिले अब मिडिया काउनसिको विधेयकलाई कसरी लाने, नेपालको पत्रकारिताको क्षेत्र कस्तो बनाउने भन्ने कुरामा पत्रकार महासंघ, बिभिन्न मियिया सम्बद्ध संघ संगठन,मिडियाकर्मीहरु सँग रहेर बहस गरिरहेको छ । र हाम्रो अपेक्षा भनेको पुर्ण प्रेस स्वतन्त्र हुनेगरि नयाँ विधेयक संसोधन हुनुपर्छ । यसले नेपालको पत्रकारिताको क्षेत्रलाइ शशक्त बनाउँछ भन्ने हाम्रो अपेक्षा रहेको छ । त्यसरी नआएको खण्डमा हाम्रो खबरदारीको अभियान जारी रहने छ ।
यतिबेला अरुको बढी चर्चा गर्ने नेपाली पत्रकारिता जगत आफैं चर्चाको हट केक बनेको छ ।यसको कारण हो सरकारले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी ल्याएका मिडिया काउन्सिल बिधेयक लगायत बिभिन्न बिधेयक ऐन र कानुन ।केन्द्र,प्रदेश र स्थानीय तीनै तहका सरकारले नियम कानुन बनाउने क्रममा संबिधानको प्रस्ताबनामै उल्लेखित प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी अघि बढिरहेको सन्दर्भमा संचार क्षेत्रमा चिन्ता र चासो छाएको छ । यसैले पनि सिंगो संचार क्षेत्र र नागरिक समाजले खबरदारी गरिरहनु आवश्यक देखिएको छ ।

तपाईको अध्यक्षको कार्यकाल कति समयको लागि हो ? तपाई नियुक्त भए पश्चात के कुराहरु नयाँ भए ?

नेपाल पत्रकार महासंघको निर्वाचन पहिले प्रदेश, जिल्ला र केन्द«को अलग समयमा हुँन्थ्यो । अब भने एकै दिन तीन तहको निर्वाचन हुने प्रणलीमा गएको छौँ । अहिले तीनै तहको एकै पटक हुने सेड्युल रहेको छ । यही ७७ सालको भाद«भित्र आगामी चुनाब हुनेछ । हाम्रो कार्यकालको अबधि त्यही चुनाब सम्म हो ।
हाम्रो कार्यसमितिले तीनवटा सन्दर्भमा रहेर काम गर्दैछ । हाम्रो जिम्मेवारी मध्य एउटा पत्रकार महासंघलाई बलियो बनाउने, अर्को महत्तवपुर्ण जिम्मेवारी पत्रकारहरुको हकहितका लागी लड्नु हो ।साना मिडियाहरुलाई सशक्त गराउने र भक्तपुरमा पत्रकारिता क्षेत्रलाई बलियो र मर्यादित बनाउन हामी कृयाशिल छौं ।
मुल त पत्रकार महासंघ भनेको सबै आस्था रहेका पत्रकारहरुको साझा थलो हो । त्यो सामुहिक थलोलाई त्यही रुपमा अघि बढाउने कोशिश गरिएको छ भन्ने मलाइ लाग्छ । यी तीन मुद्दाहरुलाई बिशेषत हाम्रो कार्यसमितिले जोड दिएको छ । हामीले पत्रकार सशक्तिकरणका लागि विभिन्न किसिमका सेमिनार, गोष्ठि, तालिम लगायत यससँगै नियमित कामहरु प्नि गरिरहेका छौँ ।

आजको यो अवधि सम्म जिल्लामा के के फरक पाउनु भयो ?

हिजोको दिनमा भक्तपुरमा पत्रकार र मिडियाहरु कम थिए । यस प्रतिको आकार्षण नै त्यो बेला कम भएको महसुस हुन्छ मलाइ । केही समय अघि यहाँ कुनै घटना, कार्यक्रम हुँदा काठमाडौँ बाट पत्रकारहरु बोलाइन्थ्यो भने आज फरक दृश्य देख्न सकिन्छ । आज यही रेडियो, टेलिभिजन, अनलाइन, दैनिक र साप्ताहिक पत्रिकामा काम गर्ने पत्रकारहरुको संख्या बढ्दो छ । विषेश गरि भन्नु पर्दा अझ मुल धारको पत्रकारहरु पनि यहाँ छन् । यसको अर्थ के हो भने पत्रकारिताको क्षेत्रमा हिजो भक्तपुर बत्ति मुनिको अध्यारो भने जस्तै थियो भने अहिले बत्ति जस्तै उज्यालो भएको छ ।

कार्यकालको बाँकि समयको लागि के योजना रहेको छ ?

मुख्य कुरा भनेको महासंघको एउटा आफ्नै भवन बनाउने चुनौति छ र त्यसतर्फ लाग्नु छ ।अर्को कुरा हामी सबै पत्रकार महासंघ, पत्रकार मिलेर नेपालको आम संचार क्षेत्रलाई जनताको आशा र भरोसाको केन्द्र बनाउनु छ। जसरी लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि पत्रकारहरुको महत्तवपुर्ण भुमिका रहेको छ । यसलाइ स्थायीत्व दिँदै  र देशको आर्थिक क्रान्तीको बाटोलाई फराकिलो बनाउँदै नेपालको पत्रकारिता क्षेत्रलाई मजबुत, मर्यादित र हरेक पत्रकारले आर्थिक र भौतिक सुरक्षा तथा सम्मानजनक पहिचानका साथ निर्धक्कसँग जीवन यापन गर्नसक्ने माहोल सिर्जना गर्नुछ । मुख्य योजना यही हो र यसैमा केन्द्रीत हुने हो ।
अर्को कुरा के हो भने राष्ट्रिय स्तरको जुन समस्या छ त्यो भक्तपुर जिल्लामा पनि छ । यहाँका मिडियाहरुलाई शशक्त बनाउने, पत्रकारहरुलाई सशक्तिकरण गर्ने, पत्रकारिता क्षेत्रलाई अझै शुद्ध र सशक्त बनाउनुछ ।

प्रतिकृया