नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या
प्रकाशित मिति
२०७६ पुष १२ गते, शनिबार ११:४३
एजेन्सी, जिहादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ । आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ ।
आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् एक भिडियो सार्वजनिक गर्दै ११ जनाको हत्या गरेको जानकारी दिएको हो । भिडियो डिसेम्बर २६ तारिखमा सार्वजनिक भएको हो । आईएसको समाचारसंस्था अमाकले उत्पादन गरेको ५६ सेकेन्ड लामो भिडियोमा देखाइएका ती सबै पुरुष छन् । उनीहरुको परिचय भने खुलेको छैन । उक्त भिडियोमा एक व्यक्तिलाई गोली हानेर ढालिएको छ ।
बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाइएको छ र त्यहीँ घाँटी रेटेर हत्या गरिएको देखिन्छ । आईएसले उनीहरू नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ । अमेरिकी विशेष फौजको कारबाहीमा गत २६ अक्टुबरमा आईएस नेता अल बगदादीको मृत्यु भएको थियो । करिब दुई महिनापछि डिसेम्बर २२ तारिखमा आईएसले उनीहरूको मृत्युको ‘प्रतिशोध’ नयाँ सैन्य अभियान घोषणा गरेको थियो । त्यसयता उसले अभियानको ब्यानरमुनि विभिन्न देशमा आक्रमण तीव्र बनाएको दाबी गरेको छ ।






प्रतिकृया