• ६ असोज २०८३, मंगलबार
  • ६ः५४ बिहान

करणीको आरोप लागेका सिद्धबाबाको बयान शुरु

प्रकाशित मिति

२०७६ पुष १२ गते, शनिबार ११:०५

सुनसरी, जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान लिने क्रम शुक्रबारदेखि शुरु भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका सिद्धबाबा भनिने गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान शुरु भएको हो ।

National Life

सिद्धबाबाको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर इजलासमा परेको छ । सरकारी वकिलमार्फत बिहीबार साँझ अदालतसमक्ष मिसिल बुझाएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया शुरु भएको हो ।

सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४को दफा २१९ को १, २ र ३९ङ० बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीमाथि सजाय माग दाबी गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अभियोगमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ ९ङ० बमोजिम सजाय गरी निज प्रतिवादीबाटै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूिर्त शुल्क निर्धारण गरी उक्त क्षतिपूर्तिबापतको रकम क्षतिपूर्ति शुल्क कोषमा जम्मा गरी पाऊँ भनी माग दाबीसमेत गरिएको छ ।

अभियोग प्रमाणित भए उहाँलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३९ङ० अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख गरेको छ ।

सिद्धबाबामाथि अदालती प्रक्रिया शुरु भएसँगै समर्थक र विरोधीहरूले शुक्रबार जिल्ला अदालत सुनसरी अगाडि प्रदर्शन गरेका छन् । अनुयायी महिलामाथि बलात्कारको मुद्दा खेपिरहेका उहाँको अदालती प्रक्रिया शुरु भएसँगै उहाँका समर्थक र विरोधीबीच जिल्ला अदालत सुनसरी अगाडि विरोध प्रदर्शन भएको हो ।

स्वतःस्र्फूतरूपमा सयौँको सङ्ख्यामा आएका महिला अधिकारकर्मीसहितका महिलाहरुले जिल्ला अदालत इनरुवा सुनसरी अगाडि सिद्धबाबामाथि कारबाहीको माग गरेका हुन् । उनीहरुले सिद्धबाबालाई कारवाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, ढोँगी बाबा चाहिँदैनलगायतका नारा लगाएका थिए ।

यता सिद्धबाबाका समर्थकहरुले अदालतअगाडि भेला भएर उहाँको जय जयकार गर्नुका साथै भजन कीर्तन र हनुमान चालिसालगायतका पाठ गर्दै रिहाइको कामना गरेका छन् । थुनछेक बहसका लागि न्यायाधीशहरु बीचमा गोला हानिएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया अघि बढेको हो । उहाँको मुद्दा गोला प्रथामार्फत सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश उप्रेतीको बेन्चमा परेको छ ।

यसैबीच सिद्धबाबाको समाचार सङ्कलनका लागि गएका पत्रकारहरुलाई अदालत परिसर छिर्न रोक लगाइएको छ । सिद्धबाबाको विषयमा समाचार सङ्कलनका लागि गएका सुनसरीका पत्रकारहरुलाई मूलगेटबाट भित्र प्रवेशमा रोक लगाइएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले बताउनुभयो ।

यता जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले पत्रकारलाई आफूहरुले सूचनाको हकबाट वञ्चित नगरेको बताउनुभयो । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरेर पत्रकारहरुलाई भित्र प्रवेशमा रोक लगाइएको भन्दै उहाँँले पत्रकारहरुलाई सूचनाको हकबाट वञ्चित गर्नु आफूहरुको उद्देश्य नभएको बताउनुभयो । सिद्धबाबाको विषयमा बयान सकिएपछि सम्पूर्ण पत्रकारलाई बोलाएर जानकारी गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिकृया