भक्तपुरमा बसले मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु
प्रकाशित मिति
२०७६ कार्तिक १३ गते, बुधबार ११:०५
भक्तपुर, भक्तपुरको कमलविनायक स्टार बैंकेट अगाडि मंगलबार साँझ भाडाको बसले सडक छेउमा पार्किङ गरी राखेको मोटरसाइकल र पैदलयात्रीहरुलाई ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । यस्तै अर्का एक पैदलयात्री घाइते भएका छन् ।
मृत्यु हुनेमा पैदलयात्री काभ्रे डाँडाबारी–३ का अन्दाजी २० वर्षीय विकास तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।मंगलबार साँझ बा ४ ख ६०७ नम्बरको बसले दुई जना पैदलयात्री र बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका तामाङको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको परिसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले जानकारी दिनुभयो । बसको ठक्करबाट अर्का पैदलयात्री भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुका विशाल तामाङ घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

दुवै सवारी साधन र मादक पदार्थ सेवन गरी सवारी चलाउने बस चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ४० वर्षीय बलराम ज्याखोलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।





प्रतिकृया