• २७ भदौ २०८३, शनिबार
  • ११ः२६ राती

जामका कारण काठमाडौं आउँदै गरेका बिरामीको बसभित्रै ज्यान गयो

प्रकाशित मिति

२०७६ आश्विन १० गते, शुक्रबार १२:३०

काठमाडौं, त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्‍याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन्।

National Life

ना७ख ५३६४ नंको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि रौतहटबाट काठमाडौं ल्याइँदै थियो। उनको धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्रै मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो। जाममा १२ घन्टाभन्दा बढी समय कुर्नुपर्दा बिरामीको मृत्यु भएको महादेवबेँसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो। शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताए।

आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए। आमासँगै सिटमा बसेका शाहको आमाको काखमै मृत्यु भएको हो।

सडक मर्मत र ठूला सवारीसाधनका कारण झन्डै ३० किलोमिटर क्षेत्रमा जाम भएको थियो। एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक ४ दिनदेखि अवरुद्ध भइरहेको छ। दसैंका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन्।

प्रतिकृया