आमाको हत्या गर्ने छोरी सहितका ४ जनालाई अदालतले पठायो थुनामा
प्रकाशित मिति
२०७६ श्रावण १५ गते, बुधबार ०२:४६
भक्तपुर, जिल्ला अदालत भक्तपुरले प्रेमीसंग मिलेर आमाको हत्या गर्ने छोरी सहितका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आज न्यायाधीस डा. श्रीप्रकाश उप्रेतीको एकल ईजलासले छोरी र उक्त हत्या संग्लन रहेका अन्य तीन आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले जानकारी दिनुभयो ।
भक्तपुरको चाँगुनारायण ७ बाँसबारीमा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा सावित्रा भट्टराईको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । प्रहरीले हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई पक्राउ गरेको थियो । उनले १२ लाख रुपैयाँ मा सुपारी दिएर आमाको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर भाडामा प्रयोग गरिएको पाइएको छ ।छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा भएकै कारण उनको हत्या गरिएको हुनसक्ने प्रहरीको पअनुसन्धानले देखाएको थियो । यस अघि गत असार २४ गते हत्या प्रकरणमा पक्राउ परेका चार जनालाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेर १६ असारमा सार्वजनिक गरेको थियो । पहिलो पटक मोहम्मद र ईश्वरीलाई कर्तव्य ज्यान मुद्दामा ७ दिन र भोला र रइसलाई ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।

चार जनालाई पक्राउ गरेपछि प्रहरीले विवाहेत्तर सम्बन्धका कारण छोरी ईश्वरीकै संलग्तामा आमाको हत्या भएको तथ्य सार्वजनिक गरेको थियो । प्रहरीले घटनालाई प्राविधिक विश्लेषणबाट पुष्ट्याइँ गर्न जुटेको र बयानका आधारमा खुलेका विषयलाई प्रमाणित गर्ने काम भएको प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले बताउनुभयो ।




प्रतिकृया