वैदेशिक रोजगारीमा भएको समस्या समाधान गर्न मन्त्रालयले गभीर पहल गर्छ : परराष्ट्रमन्त्री
प्रकाशित मिति
२०७६ श्रावण ११ गते, शनिबार ०७:०५
काठमाडौं, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मलेसिया सहित वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले गभीर पहल गर्ने बताउनु भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट गुल्मीको सत्यवतीमा गएको पहिरोमा पीडितहरुलाई उपलब्ध गराइएको राहत हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयको टोलीसँग गएको संघको टोलीलाई मन्त्री ज्ञवालीले यस्तो आश्वासन दिनु भएको हो । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा परेर हालसम्म १३ जनाले ज्यान गुमाएका छन् भने हजारौ विस्थापित हुन पुगेका छन् ।
संघका अध्यक्ष रोहन गुरुङले व्यवसायीहरुबाट संकलित ७ लाख रुपैयाँ मन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण पछि संघका अध्यक्ष गुरुङले व्यवसायीहरुले व्यवसायमा मन्दीको अवस्था रहेपनि आफ्नो सामाजिक उत्तरदायित्वको जिम्मेवारी पुरा गर्न पहिरो पीडितलाई ७ लाख सहयोग गरेको बताउनु भयो । संघको सहयोग हस्तान्तरण पछि संघका अध्यक्ष गुरुङ र महासचिव सरोज पोखरेलले मन्त्री ज्ञवाली समक्ष वैदेशिक रोजगार व्यवसायमा लामो समयदेखि समाधान हुन नसेकेका समस्याका बारेमा जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका तर्फबाट हुने समाधानको पहलका लागि अविलम्ब प्रयास गर्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा अध्यक्ष गुरुङले नेपाली कामदारका लागि रोजगारदाता मुलुकबाट आउने मागपत्र नेपाली नियोगहरुमा प्रमाणीकरण निर्दे्शिकाले तोकको परिधि बाहिर गई अनावश्यक झन्झट दिने गरेको र त्यसबाट नेपाली कामदारलाई रोजगार उपलब्ध गराउने रोजगारदाताहरुले समेत अपमान गर्ने गरेको, कामदार आदान प्रदान तथा फिर्ता सम्वन्धी द्विपक्षीय समझादारीपछि पनि नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मलेसियाको रोजगारी खुल्न नसकेको तथा पोल्याण्ड सहित यूरोपको रोजगारीमा रहेका समस्याहरु अवगत गराउनु भएको थियो ।






प्रतिकृया