वैदेशिक रोजगारीमा बढी कामदार पठाउने कम्पनी क्रमश दि रिभर, एसओएस र प्याराडाईज
प्रकाशित मिति
२०७६ श्रावण २ गते, बिहीबार १२:३७
एजेन्सी,एक हजार भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या २७ मात्र रहेको छ । अघिल्ला केही वर्षहरु दि रिभर ओभरसीज प्रा.लिं. धेरै कामदार पठाउन सफल भएको छ । उक्त म्यानपवार कम्पनीले गतवर्ष ४ हजार ४ सय २७ पुरुष र ८ सय ३१ महिला गरि जम्मा ५ हजार २ सय ५८ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ । आर्थिक वर्ष २०७४–०७५ मा पनि पहिलो नम्वरमा रहेको दि रिभर ओभरसीजले गतवर्ष भन्दा केही कम ५ हजार ८ सय ४ कामदार वैदेशिक रोजगारीमा पठाउन सफल भएको थियो ।
दोश्रो नम्बरमा एसओएस म्यानपावर सर्भिसेज प्रा.लि. रहेको छ । उक्त म्यानपावर कम्पनीले गत बर्ष ४ हजार २ सय ८१ कामदार पठाएको छ । त्यसमा पुरुषको संख्या ४ हजार १ सय ७१ र महिलाको संख्या १ सय १० रहेको छ । एसोएसले अघिल्लो आर्थिक वर्ष गत वर्ष भन्दा करिब १ हजार एक सय ९१ जनाले बढी ५ हजार ४ सय ७२ कामदार पठाएको थियो । त्यस्तै प्याराडाइज इन्टरनेशनल प्रा.लि. धेरै कामदार पठाउने म्यानपावर कम्पनीको तेश्रो नम्बरमा रहेको छ । उसले २ हजार ७ सय ७ पुरुष र ६ सय २० महिला गरी ३ हजार ३ सय २७ कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ ।

सरकारले वैदेशिक रोजगारी व्यवसायीहरुको धरौटी बढाउँदै लगेपनि संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यामा ठूलो गिरावट आएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको आर्थिक वर्ष २०७५–०७६ को प्रगति विवरण अनुसार गतवर्ष वैदेशिक रोजगारीमा गएका ५ लाख ८ हजार ८ सय २८ कामदार मध्ये म्यानपावर कम्पनीबाट गएका कामदारहरुको संख्या २ लाख ८ हजार ३ सय ५२ मात्र रहेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई १ सय ३६ देशमा नेपाली कामदार गएका भएपनि म्यानपावर कम्पनीहरुबाट जम्मा २७ देशमा नेपाली कामदार गएका छन् ।

संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ठूलो गिरावट आउनुमा मलेसिया रोजगारी बन्द हुनु नै प्रमुख कारण देखिएको छ । आर्थिक वर्ष २०७४–०७५ मा १ लाख २ हजार ९ सय ७९ जना संस्थागत रुपमा गएको मलेसियामा यस पटक भने केबल ९ हजार २ सय ६१ जना मात्र गएका छन् । गत आर्थिक वर्षमा सबैभन्दा धेरै कामदार कतार त्यसपछि क्रमशः यूएई र साउदी अरब गएका छन् । गत आ।व रोजगारीका लागि कतार जानेको संख्या ६५ हजार ४ सय १३, यूएई जानेको संख्या ४८ हजार २ सय ७८ र साउदी अरब जानेको संख्या ४३ हजार ८ सय एक रह्यो ।
यी प्रमुख गन्तव्य पछि नेपाली कामदार ओमान, कुवेत, बहराईन, साईप्रस, जोर्डन, टर्की, गएका छन् । गत आ।व कुवेत जानेको संख्या १५ हजार ५९, बहराईन जानेको संख्या ४ हजार १ सय ८३, ओमान जानेको संख्या २ हजार १ सय २९, जोर्डन जानेको संख्या १ हजार ४ सय ५० रहेको छ । चर्चामा रहने टर्की, रोमानिया र साईप्रस जस्ता यूरोपियन मुलुक र एशियाको जापानमा रोजगारीका लागि जानेहरुको संख्या एक–एक हजार पनि नाघेको छैन । जापानमा वर्षभरीमा १ सय ५० जनामात्र कामदार रोजगारीका लागि गएका छन् । सरकारले आफैले पठाउने कोरिया जाने कामदारहरुको संख्या प्रतिवेदनमा समेटिएको छैन ।
गतवर्ष १ हजार ८१ वटा म्यानपावर कम्पनीले कामदार पठाएका छन् । अघिल्लो आर्थिक वर्ष त्यस भन्दा ९ वटाले बढी १ हजार ७२ म्यानपावर कम्पनीले कामदार पठाएका थिए । यसवर्ष १ जनामात्र कामदार पठाउने १२, २ जनामात्र कामदार पठाउने १२, ३ जना कामदार पठाउने १३, ४ जना कामदार पठाउने १६, ५ जना कामदार पठाउने १४ वटा ,६, ७ र ८ जना मात्र पठाउने ११ वटा, ९ जनामात्र पठाउने १२ वटा र १० जनामात्र पठाउने ८ वटा म्यानपावर कम्पनी रहेका छन् ।




प्रतिकृया