च्याउबारे अति आवश्यक जानकारी
प्रकाशित मिति
२०७६ असार ३१ गते, मंगलवार ११:२९
एजेन्सी । बर्षायाम समयमा च्याउ खाएर ज्यान गुमाउँनेहरुको खबर आउँन थालेको छ । च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रुपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरुमा समेत च्याउहरु प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रुपमा उम्रने च्याउहरु कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि हुन्छन् । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरुमा खानयोग्य र बिषालु छुट्याउँन गार्हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवस्थामा यो क्रम भंग हुन्छ र मानिसहरु अकालमा मृत्युको शिकार बन्छन् ।
लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् । तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो ।

खान योग्य च्याउहरु पनि बुझेर मात्र खानुपर्छ

धेरै प्रजातीहरु खान योग्य च्याउहरुलाई कृत्रिम रुपमा रोप्न या खेती गर्न सकिदैन । यसैले च्याउहरु जंगलबाट सकंलन गर्ने कार्य संसारभर नै चलेको छ । तर खान योग्य च्याउहरु पनि कुनै कुनै अवस्थामा बिषालु बन्न पुग्छन् । खान योग्य र पहिले खाएका च्याउहरु नै पनि कुहिन थालेपछि बिषालु बन्छन् । त्यस्तै कतिपय च्याउहरु कुनै निश्चित खानेकुरासँगसँगै खान हुदैन । जस्तै कोप्रिनस प्रजातीका च्याउहरु रक्सीसँग खाएमा बिषालु हुन्छन् ।
च्याउका बारेमा रहेका केही गलत धारणाहरु र तिनको खण्डन
किराहरुले बिषालु च्याउ खादैनन् वा किराले खाएको च्याउ बिषालु हुदैन
बुझ्नु पर्ने कुरा के हो भने सबै जीवजनावारका लागि बिषहरु एउटै हुँदैनन् । कुनै कुनै यस्ता बिषहरु हुन्छन्, जुन निश्चित जीवजन्तुलाईमात्र हानी गर्न सक्छन् । यसैले किराहरुका लागि बिषालु नहुने च्याउहरु मानिसहरुका लागि बिषालु हुनसक्छन् । एमानिटा फालोइड्स प्रजातीको च्याउमा किरा लाग्छन् तर यो मानिसका लागि बिषालु हुन्छ ।
बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ
धेरै मानिसहरु पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन् । तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन । यसको मतलब, च्याउलाई चाँदीसँग कुनै लिनुदिनु छैन र च्याउमा चाँदी डुबाउँदा चाँदीको रंगमा परिवर्तन हुदैन ।
बिषालु च्याउहरु स्वादिला हुँदैनन्
धेरै मानिसहरु खानयोग्य च्याउहरुमात्र स्वादिला हुने र बिषालुहरु च्याउ तितो या टर्रो या वेस्वादिलो हुने ठान्छन् । तर यो सत्य होइन । एमानिटा च्याउ पकाएर स्वाद मानी मानी खाएकाहरु मृत्युको मुखमा पुगेर धन्न फर्किएका छन् । तिनलाई सोध्दा च्याउ खाँदा स्वादिलो भएको बताएका थिए ।
राम्ररी पकाएमा सबै च्याउ खान योग्य हुन्छन्
कुखुराको मासु राम्ररी पकाएर (६० से.भन्दा माथि) खाँदा बर्डफ्लू लाग्दैन भने जस्तो हैन । कतिपय च्याउमा भएका बिष जति पकाएपनि बिषालु नै रहन्छ । अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरुले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन् । यस्ता च्याउहरु जति पकाएर खाएपनि खतरनाक हुन्छन् ।
बिषालु च्याउले भातलाई रातो बनाउँछ
यो गलत सोचाईले पनि मानिसहरु मृत्युको शिकार बनेका छन् । नेपालमा च्याउ खाएर बिरामी भएकाहरुले पनि च्याउसँग सेतो भात नै खाएका थिए । अहिलेसम्म कसैले पनि च्याउलाई भातमा मिसाउँदा रातो भएको देखेको बताएका छैनन् ।
बिषालु च्याउको टुप्पो तिखो हुन्छ
एमानिटा फालोइड्स प्रजातीको च्याउको टुप्पो वयश्क अवश्थामा सतह मिलेको, टुप्पो तिखो नभएको हुन्छ । धेरै बिषालु च्याउहरुमा पनि टुप्पो तिखो हुदैन । त्यस्तै खानयोग्य च्याउहरुमा पनि टुप्पो तिखो हुन सक्छ ।
बिषालु च्याउ खाँदा कस्तो लक्षण देखिन्छ
बिषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षणहरु बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ । यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्नसक्छ । तर बिषको असर केही क्षण पछाडी पुनः देखिन थाल्छ । कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको दुई तिन दिन पछि मात्र कलेजो तथा मृगौलामा असर देखाउँन थाल्छ । जसको दुई हप्ता भित्र मृत्यु हुन सक्छ । यसैले च्याउ खाएको केही समय भित्र माथि उल्लेख गरिए अनुसारका लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस् ।
बिषालु च्याउबाट कसरी जोगिने
सबैभन्दा पहिले बिषालु च्याउबाट जोगिनु यस्ता च्याउ नखानु नै हो । व्यवसायिकरुपमा खेती गरिएका च्याउहरु सुरक्षित हुन्छन् । भरसक जतासुकैको वा केटाकेटीले ल्याएको च्याउ खाँदै नखानुहोस् । होस् गर्नुहोस्, च्याउ खान अनुभव र आँट होइन, ज्ञान चाहिन्छ ।




प्रतिकृया