• १९ भदौ २०८३, शुक्रबार
  • २ः५६ दिउँसो

आँखा सुख्खा हुने ९ कारण र ७ लक्षण, उपचार के?

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार १२:२७

स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्छ। आँसुका तीन सतह हुन्छन्: ‘लिपिड’ सतह, ‘एक्वियस’ सतह र ‘म्युकिन’ सतह।

आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न नसक्दा आँखा सुख्खा हुने समस्या आउँछ।

Kamana Sewa

यस्तै, गर्मी मौसममा तापक्रम वृद्धिसँगै हुरिबतास चल्ने तथा वायुमण्लमा धुलो, धुँवाको मात्रा बढ्ने हुनाले आँसु चाँडै बाफ बनेर उडेर जान्छ र आँखा रातो भई पोल्ने र चिलाउने गर्छ। अत्यधिक वायुप्रदूषणले गर्दा धुलोका कण तथा रसायन छिरेर आँखाको नानीमा टाँसिन्छ। जसले गर्दा आँखामा अप्ठेरो महसुस हुन्छ र संक्रमण हुन सक्छ। पैदल यात्रु, सडकमा कार्यरत कर्मचारी, मोटरसाइकल चालक आदि यो समस्याबाट बढी प्रभावित हुन्छन्।

Classic Tech Desktop

आँखा सुख्खा हुनुका कारण

— वातावरणीय  समस्याः प्रदूषण तथा तापक्रम वृद्धि।

— इलेक्ट्रोनिक उपकरणः हिटर, पंखा, एअर कन्डिसनर, कम्प्युटर आदिको लगातार प्रयोग गर्नु,

— परेलीमा चाया पर्ने समस्या,

— गाजल तथा सौन्दर्य सामाग्रीको अत्यधिक प्रयोग,

— भिटामिन ‘ए’ को कमी,

— बाथको रोग, मधुमेह, थाइराइड सम्बन्धी समस्या आदि,

— महिनावारी बन्द हुँदा, पाठेघरको शल्यक्रिया,

— लामो समयसम्म आँखामा विभिन्न औषधिको प्रयोग,

— कतिपय मानसिक रोग तथा मुटुको रोगका औषधिको प्रयोग, आदि।

सुख्खा आँखाका लक्षण

सामान्यतया सुख्खा आँखाको समस्याबाट पीडित व्यक्तिमा निम्न लक्षण देखा पर्न सक्छन्:

— आँखामा असजिलो महसुस हुनु,

— आँखा पोल्ने तथा दिउँसोपख रातो देखिने,

— आँखा सुख्खा हुने तथा दुख्ने,

— आँखामा चिप्प्रा लाग्ने र च्यापच्याप हुने,

— आँखा चिम्लिरहन मन पर्ने,

— प्याज काट्दा आँसु नबग्ने,

— आँखामा केही बिझाएको जस्तो महसुस हुने, आदि।

उपचार

सुख्खा आँखाको समस्याबाट पीडित बिरामीले आफूले काम गर्ने वातावरणमा परिवर्तन ल्याउन जरुरी छ। टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले आँखा धुनु उपयुक्त  हुन्छ। मोटरसाइकलमा हिँड्ने मानिसले भाइजर लगाउनुपर्छ। साथै, परेली तथा आँसुसित सम्बन्धित ग्रन्थीको समस्या तथा अन्य रोगको उपचार पनि महत्वपूर्ण हुन्छ।

मुख्यतया सुख्खा आँखाको उपचारका लागि कृतिम आँसु प्रयोग गर्नुबाहेक अर्को विकल्प छैन। साथै, आवश्यक मात्रामा पानी तथा झोल पदार्थ पिउनुपर्छ। घाममा निस्किँदा कालो चस्मा लगाउनुपर्छ। कतिपय अवस्थामा औषधिको साटो सामान्य शल्यक्रिया आवश्यक हुन सक्छ। यसको लामो समयसम्म उपचार गराउनुपर्ने हुनाले चिकित्सकको निगरानीमा रहनुपर्छ।

स्वास्थ्य खबर पत्रिका बाट साभार ।

प्रतिकृया