भक्तपुरमा विपद् उद्धारको नमुना अभ्यास
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ०२:४३
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ स्थित दुईपोखरीमा शनिबार विपद् उद्धारको नमुना अभ्यास गरिएको छ ।

मध्यपुरथिमि नगरपालिका, वीरदल गण सूर्य्विनायक, महानगरीय प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल २२ नम्बर गणलगायतको सहकार्यमा विपद् व्यवस्थापन न्यूनीकरण तथा उद्धारको तयारीको लागि दुईपोखरीमा डुङ्गामार्फत उद्धारको नमूना अभ्यास प्रदर्शन गरिएको हो ।

पोखरीमा सेल्फी खिच्दा पोखरीमा डुबेका व्यक्तिलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका तालिमप्राप्त जवानहरुले उद्धार गरी प्रारम्भिक उपचार गरेर नमुना अभ्यास प्रदर्शन गरेका थिए ।

गतवर्षको वर्षात्मा भक्तपुर डुबानका क्रममा विपद् व्यवस्थापन तथा उद्धार सामग्री नहुँदा भोग्नु परेको समस्यालाई मध्यनजर गरी स्थानीय व्यवसायीहरूको सहयोगमा करिब २५ लाख रुपैयाँमा उद्धार सामग्री खरिद गरेको वीर दल गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार विपद् व्यवस्थापन र उद्धारका सामाग्रीहरु रोमन शिल्पकार, श्रीभक्त काशीचावा, विज्ञान राई, निर्भयबाबु प्रसाई लगायतले १–१ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । सो सामाग्रीहरु भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन शुन्दर श्रेष्ठ, उप प्रमुख अन्जना देवी मधिकर्मीले उद्धारकर्ताहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।

हनुमन्ते नदीमा आउने बाढी, पहिरो र भुकम्प तथा आगलागीजस्ता विपद्का बेला उद्धार तथा व्यवस्थापनमा सहयोग पु¥याउन सहज हुने उदेशयले उद्धारका समाग्री खरिद गरि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । उद्धार र व्यवस्थापनका सामग्रीहरु वीर दल गणका गणपति प्रमुख सेनानी पौडेलको संयोजकत्वमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्र निर्माण गरी भण्डारण गरेको छ ।

भण्डारण केन्द्रमा विशेषगरी आगलागी, भूकम्प, बाढीपहिरोका समयमा उद्धार तथा विपद् व्यवस्थापनका सामग्रीहरू डुङ्गा, स्टेचर, क्लाइम्बिङ, रोप, फायर बुट, फायर पञ्जा, रिफ्लेक्टिभ ज्याकेट, इमरजेन्सी लाइटलगायत छ । त्यस्तै, लाइभ ब्वाईरिङ, बन्चरो, हेम्बर, रेस्क्यू ग्लोभ्स, ल्याडर, रोटरी ह्याम्बर, रोटरी रेस्क्यु, उड सर्कुलर, पावर वायर रोल लगायत रहेका छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले सामाग्री खरिद गरेर राखिएसंगै गत वर्षको जस्तो अफ्ठ्यारो अवस्थाको अन्त्य हुने बताउँनु भयो ।

मध्यपुर थिमिका प्रमुख मदन शुन्दर श्रेष्ठले उद्धार सामाग्रीको व्यवस्थापन गर्न सहयोग गर्नेहरुलाई धन्यवाद दिदै जिल्लामा विपद पर्दा यस्ता सामाग्रीले ठुलो सहयोग गर्ने बताउँनु भयो ।









प्रतिकृया