धुलो बढार्न ब्रुमर थपिए काठमाडौंमा
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ०२:१०
काठमाडौं । काठमाडौं महानगरले उपत्यकाको सडकको धूलो सफा गर्न चीनबाट थप दुई ब्रुमर भित्र्याएको छ । यसअघि महानगरले तीन ओटा ब्रुमर भित्राइसकेको छ । भन्सारबाहेक यी दुईओटा ब्रुमरको मूल्य दुई करोड २७ लाख ३७२ रुपैयाँ परेको छ ।
दुई ओटा ब्रुमरको औपचारिक सञ्चालन आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्नुभयो ।

युरो पाँच मापदण्डका ती ब्रुमर चिनियाँ कम्पनी छेङ्दुले महानगरलाई उपलब्ध गराएको हो । महानगरका मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ब्रमुरमा दुई ओटा इन्जिन छन् । हिलो र पातपतिङ्गर सङ्कलन गर्न प्रयोग गर्न सकिने हरेक ब्रुमरमा ७ घनमिटर धूलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ ।

सडक सफाइ गर्दा पहिले पानी छर्केर धूलो नउड्ने बनाएपछि ब्रुमरले धूलो तथा पतिङ्गर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा रफ्तार भएका यी ब्रुमरले सडकको अवस्था हेरी प्रतिघण्टा तीन किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ ।




प्रतिकृया