बेलायतले दक्षिण कोरियासँग र्गयो व्यापार सम्झौता
प्रकाशित मिति
२०७६ जेष्ठ २८ गते, मंगलवार ०८:२७
लन्डन । युरोपेली संघ (इयू)बाट हुने बहिर्गमन (ब्रेक्जिट) पछिको सम्बन्धका लागि बेलायतले दक्षिण कोरियासँग व्यापार सम्झौता गरेको छ।
सोलमा सम्पन्न प्रारम्भिक सम्झौता बेलायतका अन्तर्रा्ष्ट्रिय व्यापार मन्त्री लियम फक्सले उनका दक्षिण कोरियाली समकक्षी यू म्यूङ–हीसँग गरेका बेलायती सरकारले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

ब्रेक्जिटपछिको व्यापार सम्बन्धका लागि एसियाली मुलुकसँग भएको यो बेलायतको पहिलो व्यापार सम्झौता हो। यसपछि बेलायतले चिली, आइसल्यान्ड, नर्वे र स्विट्जरल्यान्डसँग पनि व्यापार सम्झौताको तयारी गरेको छ।

सम्झौताको अर्थ यो हो कि इयूबाट आगामी अक्टोबरमा बहिर्गमन भएपछि बेलायती व्यापार तथा व्यवसायले दक्षिण कोरियासँग उत्तम अवसरको लाभ लिनसक्ने छ भने दक्षिण कोरियाले पनि आफ्नो आवश्यकता अनुसार बेलायती पक्षसँग स्वतन्त्र व्यापारका लागि बाटो पाउने छ ।
सन् २०१८ मा दुई मुलुकबीच १८ खर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो। दक्षिण कोरिया र इयूबीच सन् २०११ मा स्वतन्त्र व्यापार सम्झौता भएपछि औषतमा हरेक वर्ष व्यापारमा १२ प्रतिशतले वृद्धि हुँदै आएको छ।
बेलायत आगामी अक्टोबर ३१ मा इयूबाट बाहिरिने कार्यक्रम तय भएको छ जसका कारण बेलायती उत्पादनले इयू सदस्य राष्ट्रहरूसँगको प्रमुख बजारहरूलाई गुमाउने छ। यद्यपि केही मुलुकमा बेलायतले ब्रेक्जिटपछि पनि आफ्नो बजारलाई स्थापित गराइराख्न चाहेको छ।
तर, लन्डन र इयूको प्रशासनिक केन्द्र ब्रसेल्सबीच सम्झौता नभएमा विश्व व्यापार संगठनको नियमअनुसार इयूसँगको बेलायतको सम्बन्ध ‘तेस्रो मुलुकका’ रूपमा रहनेछ। रासस




प्रतिकृया