१० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रकाशित मिति
२०७६ जेष्ठ २२ गते, बुधबार १२:४७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको चिप्ली गाउँमा रहेको सिद्धि प्राविको खेल मैदान निर्माणका क्रममा अनियमितता गरेको भन्दै ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोे छ ।
अख्तियारले जिल्ला समन्वय समिति कास्कीका इन्जिनियर हरिबहादुर बस्नेत, प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बराल, मादी गाउँपालिका ७ का वडा सचिव रामकृष्ण बाँस्तोला, लेखा अधिकृत झलकप्रसाद आचार्य, लेखापाल विष्णु बरालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले निर्माण समितिका अध्यक्ष हर्क गुरुङ, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गौसुवा गुरुङविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूमाथि १ लाख ८६ हजार रुपैयाँका दरले बिगो कायम गरिएको छ ।
यस्तै, विद्यालयमा निकासा हुने रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको राम्नाकोटस्थित जनता माविका प्रधानाध्यापक जयलाल न्यौपानेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
न्यौपानेमाथि शिक्षकको तलब, विद्यार्थीको छात्रवृत्ति, दिवा खाजा र भवन निर्माणका क्रममा ज्यामीको ज्याला गरी ८ लाख ३१ हजार रुपैयाँ दुरुपयोग गरेको आरोप छ । समाचार आजको कान्तिपुरले छापेको छ ।




प्रतिकृया