• ३१ भदौ २०८३, बुधबार
  • २ः०७ दिउँसो

थोरै पाहुनासँग रमाएको ठमेल

प्रकाशित मिति

२०७८ बैशाख ८ गते, बुधबार ०८:१६

काठमाडौं:  विकसित देशतिर सहरहरू प्रायः रातमा व्यस्त हुन्छन्। मानिसहरू दिनमा भन्दा रातमा घुम्ने गर्छन्। नेपालका सहर भने बेलुका ८ बजिनसक्दै सुनसान हुन्छन्। राजधानी उपत्यकाभित्र प्रशासनले ९ बजेपछि होटल रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिएको छ। कोभिड सुरु भएयता त ८ बजे नै प्रहरी होटल बन्द गर्न भन्दै ढोका ढकढक्याउन पुग्छ।

National Life

राजधानी उपत्यकामा अलि अबेरसम्म नसुत्ने सहर भनेको ठमेल नै हो। उपत्यकाभित्र ठमेलको रात्री जीवन अलि बेग्लै छ। यहाँका होटलमा गुन्जने म्युजिक सुन्ने र आनन्द लिने रहर प्रायः सबैलाई हुन्छ। विदेशी पर्यटकले भरिभराउ हुने भएकोले यो क्षेत्रमा प्रहरीले त्यति कडाइ पनि गर्दैन।

हुन पनि ठमेल पुग्दा विदेशकै कुनै सहरमा पुगेजस्तो महसुस हुन्छ। तर एक वर्षयता भने ठमेलको व्यापार सुकेको छ। म्युजिक गुन्जने, पर्यटकको भीडभाड हुने र विभिन्न किसिमका बिजुली बत्तीले चम्कने यो सहर एक वर्षदेखि सुनसानजस्तै छ।

Classic Tech Mobile
Classic Tech Desktop

ठमेलको ‘नाइट लाइफ’ र कोभिडको प्रभावबारे बुझ्न सोमबार राति फन्को लगाउँदा सीमित होटल तथा रेस्टुरेन्ट ‘प्याक’ देखिए पनि गल्लीका साथै धेरैजसो होटल सुनसान थिए।

लकडाउन र कोभिडपछि थला परेको व्यवसाय उकास्न भए पनि व्यवसायीले बेलुकी अबेरसम्म ठमेलका केही होटल खुला राख्छन्। ठमेलमा व्यवसाय सञ्चालन गर्दै आएका दीपक खनालले कोरोना संक्रमण र लकडाउनपछि व्यवसायमा नराम्रो धक्का परेको बताए।

सरकारले रचनात्मक योजना तय गर्न नसक्दा होटल तथा पर्यटन व्यवसायमा असर परेको उनको ठहर छ। ‘कोभिडका कारण व्यवसायीहरू डुबेका छन् तर सरकार अझै कडाइ गर्न खोजिरहेको छ,’ उनले भने, ‘यसरी त पर्यटन तथा होटल क्षेत्र थप ध्वस्त हुन्छ।’

ठमेलमा रात्रीकालीन व्यवसाय पनि सञ्चालन गर्न पाउनुपर्ने माग ठमेल विकास परिषद्ले राख्दै आएको छ।

(नागरिक दैनिक)

प्रतिकृया