• ११ असोज २०८३, आइतबार
  • ९ः४४ राती

लठौवा नाच जगेर्ना गर्दै नौखरीका थारु युवा

प्रकाशित मिति

२०७७ मंसिर २ गते, मंगलवार ०९:४३

कञ्चनपुर, लोप हुने सङ्घारमा पुगेको लठौवा नाच जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीका थारु युवाहरु जुटेका छन । डौना वेवरी लठौवा नाच टोली गठन गरी युवाहरु यो नाच जगेर्नामा लागेका हुन् ।

National Life

युवाहरुले नाच जोगाउनका लागि १२ जनाको टोली बनाएका छन । “थारु समुदायको दशैँ, तिहार, माघीलगायतका चाडपर्वमा देखाइने लठौवा नाच लोप हुन थालेपछि जोगाउनका लागि अगाडि बढेका छौँ”, टोलीका एक सदस्य डुठन डगौराले भने, “बूढापाकाहरुबाट सर्दै आएको संस्कृति जोगाउनका लागि टोलीनै गठन गरेका छौँ । नाचलाई कसरी पुरानै तरिकाले देखाउन सकिन्छ र मौलिकता थप्न सकिन्छ भनेर दैनिक अभ्यासमा समेत जुटेका छौँ ।”

सांस्कृतिक समारोह र अन्य कार्यक्रममा समेत युवाहरुले लठौवा नाच देखाउने गरेका छन । नाचका लागि आवश्यक पर्ने पहिरन बनाउने सीपसमेत सिकेका छन । “सामाजिक, राजनीतिक र सांस्कृतिक समारोहमा लठौवा नाचलाई देखाउँदा संस्कृति जोगाउनका लागि मद्दत पुग्छ”, अर्का सदस्य बिहारी चौधरीले भने, “नाचबारे सबैले जानकारी पाउँछन । पछिल्लो पुस्ताले समेत नाच बारे जानकारी पाउने भएकाले निरन्तरता दिँदै आएका छौँ ।”

Classic Tech Mobile
Classic Tech Desktop

नाच देखाउँदा पहिरन, तन्त्रमन्त्र र अन्यमा गरी धेरै खर्च लाग्ने गर्दछ । नाच देखाउन माग आएको ठाउँबाट निश्चित शुःल्कसमेत युवाहरुले लिने गरेका छन । तान्त्रिक विधिको प्रयोग गरी लठौवा नाच देखाइने गरिन्छ । नाच निकै आकर्षक र मनमोहक हुने भएकाले दर्शकले यस नाचको बढी माग गर्ने गर्दछन । हातमा लाठी (लौरो) लिएका युवाहरुले पिठ्युँमा मयुरको प्वाँख बाँधेर आकर्षक तरिकाले परम्परागत गीत गाउँदै नाचलाई प्रस्तुत गर्दछन ।

यो नाच समूहमा देखाइने गरिन्छ । दुई वटा लहरमा आकर्षक पहिरनमा रहने युवाहरुले मादलको तालसँगै विभिन्न मुन्द्रमा नाचलाई पस्कने गर्दछन । नाच टोलीलाई भवितव्यबाट जोगाउन गुरुबासमेत सँगसँगै हिँड्ने गर्दछन । गुरुबाले निश्चित घेरा बनाएपछि नाचलाई सोही ठाउँमा देखाउने गरिन्छ । थारु समुदायको यस सामूहिक लोक नृत्यमा एक जना हास्यव्यङ्ग्य गर्ने व्यक्ति पनि रहने गर्दछन् । यिनलाई थारु भाषामा ‘सोङ्ग्या’ भन्ने गरिन्छ । नृत्यमण्डलीमा रहने गुरुबा (तान्त्रिक) ले परम्परागत विधिद्वारा नाचको प्रारम्भ गर्ने र पूजा विधिद्वारानै समापन गर्ने गर्दछन् ।

“नाच परापूर्वकालदेखि चल्दै आएको छ”, स्थानीय चन्द्रबहादुर चौधरीले भने, “नाच आयोजना गर्न निकै खर्च लाग्ने भएकाले धेरैले छाड्दै आएका थिए । हाल युवाले अन्य जिल्लाबाट यस नाचबारे सिकेर जगेर्नामा जुटेका छन् ।” कञ्चनपुरमा यस नाचको लोकप्रियता बढ्दो छ । परापूर्व कालमा गोठाला जाँदा गोठालाहरुले खेल्दाखेल्दै यस नाचकलाको विकास गरेको थारु बूढापाकाहरुको भनाइ छ ।

रासस

प्रतिकृया