• ६ असार २०८३, शनिबार
  • ४:१० बेलुका

भाइमसलाको माग, मूल्य र आयात घट्यो

प्रकाशित मिति

२०७७ कार्तिक २३ गते, आईतवार ०७:०९

काठमाडौं, तिहार नजिकिएसँगै तिहारमा अत्यधिक खपत हुने भाइ मसलाको माग घटेको छ । माग घटेसँगै यसको मूल्यमा पनि कमी आएको पाइएको छ । कोरोना महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेकाले यस वर्षको तिहारमा भाइमसलाको माग घटेको हुन सक्ने व्यापारीहरूको ठम्याइ छ । अन्य समयको तुलनामा तिहारको समयमा भाइमसलाको विक्री करीब ५० प्रतिशतले बढ्ने गरेको भए पनि यस वर्ष विक्री ३० प्रतिशत जति मात्र रहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

सामान्य अवस्थामा समेत मसला बढी विक्री हुने होटेल, रेष्टुराँ, मिठाई उद्योग जस्ता व्यवसाय लामो समयदेखि पूर्ण क्षमतामा चल्न सकेका छैनन्, जसले गर्दा पनि यस्ता वस्तुको माग घटेको उनको भनाइ छ ।

Kamana Sewa

माग नै घटेपछि लामो समयसम्म व्यापार व्यवसाय बन्द भएर व्यापारीका गोदाममा थन्किएर बसेको मसला बिग्रने डरले गर्दा पनि व्यवसायीले मूल्य घटाएरै भए पनि बेच्ने अवस्था आएको उनले जानकारी दिए ।

Classic Tech Desktop

अघिल्लो वर्षको तिहारको तुलनामा यस वर्ष यस्ता वस्तुको खुद्रा मूल्य किलोमै २०० रूपैयाँसम्म घटेको खुद्रा व्यापार संघले जानकारी दिएको छ । पेस्ताको खुद्रा मूल्य गत वर्षको भन्दा ५० घटेर प्रतिकिलो १ हजार ९०० बाट १ हजार ८५० रुपैयाँ कायम भएको छ ।

काजुको मूल्य पनि प्रतिकिलो १ हजार ७५० बाट घटेर १ हजार ५५० कायम भएको छ । मखानाको खुद्रा मूल्य १ हजार २०० रुपैयाँबाट घटेर प्रतिकिलो १ हजार कायम भएको छ । अञ्जीरको मूल्य पनि प्रतिकिलो २०० रुपैयाँले घटेर २ हजार बाट १ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी खुर्पानी, दालचिनी, ल्वाङ, सुकुमेल, सुपारीलगायतको मूल्य समेत घटेको छ ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, कलंकीलगायत स्थानहरूमा अन्य समयको तुलनामा यतिबेला मानिसको भीड बढेको देखिए तापनि तिहार लक्षित व्यापारमा भने खासै वृद्धि नभएको खुद्रा व्यापारी पवित्र वज्राचार्यले बताए । उनका अनुसार अघिल्ला वर्षहरूमा तिहारको समयमा चिनी, मैदालगायत खाद्य वस्तुको मागसमेत ह्वात्तै बढ्ने गर्दथ्यो । तर, यस वर्ष त्यस्ता वस्तुको विक्रीमा पनि खासै वृद्धि भएको छैन ।

नेपालमा तिहारका लागि मात्रै व्यापारीहरूले ६० करोड रुपैयाँसम्मको भाइमसलाको कारोबार गर्ने गरेको व्यापारीहरू बताउँछन् ।
आर्थिक अभियान दैनिकमाबाट साभार

प्रतिकृया