• ११ असोज २०८३, आइतबार
  • ७ः५९ बेलुका

सेनालाई सदैव सहयोग गर्छुः उपप्रम पोखरेल

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार ०४:४२

काठमाडौँ, सैनिक मुख्यालय जङ्गी अड्डाले उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई आज बिदाइ गरेको छ । जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आफ्नो कार्यकालमा नेपाली सेनाले विपद्का समयमा गरेको उद्धार, राहत र कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

National Life

सेनाबाट भइरहेको विकासनिर्माण, प्रकृति संरक्षणलगायत कार्यको स्मरण गर्दै उहाँले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सेनालाई सुझाव दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “म आफू जुनसुकै ठाउँमा रहे तापनि सेनालाइ सदैव सहयोग गर्ने छु ।” सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलबाट करीब तीन वर्षका कार्यकालमा भएको मार्गनिर्देशन र सुधारात्मक कार्यको थालनीप्रति धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गर्नुभयो ।

निवर्तमान रक्षामन्त्रीको नेतृत्वमा कार्यसम्पादनमा सहजता र सरलता अनुभूति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति, प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापनालगायत महत्वपूर्ण उपलब्धि यो समयमा भएका छन् ।”

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा निवर्तमान रक्षामन्त्री पोखरेललार्ई प्रधानसेनापति थापाले मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा रक्षा सचिव, बलाधिकृत रथी, रक्षा मन्त्रालयका पदाधिकारी, रथीवृन्दलगायत अधिकृत उपस्थित हुनुहुन्थ्यो ।
रासस

प्रतिकृया