कक्षा ११ र १२ आफ्नै स्कुलमा किन पढ्ने ?
प्रकाशित मिति
२०७७ भाद्र २९ गते, सोमबार ०६:२७
बि.स. २०७६ सालको एसईई परीक्षाको नतिजा गत महिनाको अन्तिम हप्ता मात्रै सार्वजनिक भयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नतिजा सार्वजनिक भएको एक महिना वितिसक्दा पनि धेरै विद्यार्थीहरु कुन कलेजमा के विषय पढ्ने भनेर द्धिविधामा परेका छन् । तर धेरै विद्यार्थी र अभिभावकले यन्त्रको प्रयोग गरेर कलेज विषय पनि रोजेर भर्ना भईसकेको छन् । अझै भर्ना हुन बाँकी विद्यार्थी र अभिभावकले अब चाहिँ ढिला नगरी कलेज र विषय छान्नु पर्ने हुन्छ । सामान्यतया एस.ई.ई. पास गरिसकेपछि धेरै अभिभावकहरु आफ्ना छोराछोरीहरुलाई घरबाट केही टाढाको स्कुल÷कलेजमा भर्ना गर्न खोज्छन् ।
अझ बिहानैदेखि गाडी चढेर घण्टौँ लाग्ने कलेजको खोजीमा अभिभावकसँगै विद्यार्थीहरु पनि सुनेको सुखमा दौडिन्छन् । झन् भक्तपुरका धेरै विद्यार्थीहरु मनोहरा खोला पश्चिमतर्फ काठमाडौँ अनि ललितपुरका महँगा स्कुल रोज्न पुग्छन् । ठुला कलेज भवन, पर्याप्त पार्किङ्ग, सफा अनि नयाँ गाडी, काउन्सेलरको आकर्षक व्यक्तित्व, विज्ञापनदेखि साथीभाइहरुको सङ्गतले पनि विद्यार्थीलाई आकर्षित गरेको देखिन्छ । सम्पन्न परिवारका सुकिलामुकिला विद्यार्थीहरुको फोटो सहितको विज्ञापन, हाउभाउ अनि प्रस्तुतिकरणले सुरुमा धेरैलाई लोभ्याउँछ तर, कक्षा १० सम्म आफूले अध्ययन गरेको स्कुलमै कक्षा ११ र १२ सञ्चालनमा छ भने, सोही स्कुलमा कक्षा ११ र १२ अध्ययन गर्नैपर्ने धेरै कारणहरु मध्ये केही यस प्रकार छन् ।
१. आफुले कक्षा १० सम्म पढेको स्कुलमा अपनत्व महसुश हुनाले विद्यार्थीको मनोबल उच्च रहन्छ ।
२. स्कुलको व्यवस्थापन र शिक्षकहरु पूर्व परिचित हुनाले विद्यार्थीलाई आफ्ना समस्या राख्न र समाधान गर्न सजिलो हुन्छ ।
३. शैक्षिक वातावरणमा घुलमिल हुन र अतिरिक्त कृयाकलापमा भाग लिन सजिलो हुन्छ ।
४. स्कुल र अभिभावकबीच पहिले नै राम्रो सम्बन्ध स्थापित भइसकेको हुन्छ । जसले गर्दा अभिभावक, शिक्षक र व्यवस्थापन बिचमा समन्वय, सूचना आदानप्रदान गर्न पनि सहज अनि सरल हुन्छ ।
५. विद्यार्थीहरुको पढाइ, आचरण, सङ्गत र मनोविज्ञान बुझ्न शिक्षकहरुलाई सजिलो हुन्छ ।
६. गरिब अनि जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि सम्बन्धित पालिका अनि वडाहरुबाट सिफारिश जुटाउन झन्झट हुँदैछ ।
७. तत्काल र भविष्यमा कुनै पनि छात्रवृत्ति वा अन्य सहयोगका लागि आवश्यक सिफारिस प्राप्त गर्न सजिलो हुन्छ ।
यो सुचना अनि प्रविधिको युग हो । आफुले इच्छाएको वा रोजेको विषय अध्ययन गरेर भविष्यमा स्वावलम्बी नागरिक बन्न धेरै गाडी भएको, ठुलो कलेज भवन भएको शिक्षालय नै चाहिँदैन । तपाइँहाम्रो सोचाइ अनि मानसिकताले गर्दा अनावश्यक महत्वाकांक्षी सोच लिँदा भविष्यमा पश्चाताप हुन सक्छ । यदि आफुले कक्षा १० सम्म अध्ययन गरेको स्कुलमा कक्षा ११ र १२ को अध्यापन हुन्छ र आफुले रोजेको र खोजेको विषय पढाइ हुन्छ भने, टाढाको कलेज किन जाने ? “नजिकको तीर्थ हेला” भन्ने उक्तिलाई अब व्यवहारमा प्रयोग गर्नु हुँदैन । आफ्नो घर, बसाइँ अनि कोठा वरपरका कलेजको बिगत, वर्तमान, भविष्यको लक्ष्य, कलेज सञ्चालक अनि शिक्षकहरुको विषयगत दक्षता र क्षमता हेरेर कक्षा ११मा भर्ना गर्नुपर्छ । घर नजिकको कलेजमा अध्ययन गर्दा समय र पैसाको पनि वचत हुन्छ । कलेज आवतजावत गर्दा लाग्ने समय र खर्च जीवनका लागि महत्वपूर्ण कुरा हुन् । ओठले मात्रै हुँदैन बास्तविक व्यवहार चलाउन त नोट नै चाहिन्छ । आदर्शले पेट भरिँदैन, कुराले चिउरा भिज्दैन । त्यसैले, सुनेको सुखभन्दा गरेको अनि भोगेको दुःख महत्वपूर्ण कुरा हो । तसर्थ, कक्षा ११मा अध्ययन गर्न योग्यता र क्षमता पुगेका विद्यार्थी अनि अभिभावकले आफ्नो गाउँठाउँ, टोलछिमेकमा भएका कलेजको शैक्षिक अवस्था एकपटक आफैँले पढेर, हेरेर अनि बुझेर मात्रै टाढाका कलेजतिर भर्नाका लागि जाने कि ?
सागर गुरागाईं






प्रतिकृया