गोठालो गएकी बालिकाको शव अर्ध–नग्न अवस्थामा फेला
प्रकाशित मिति
२०७७ असार २० गते, शनिबार १२:०७
जनकपुर, जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । भैंसी चराउन गएकी बालिकाको शव तीनदिनपछि आँप बगैँचानजिकै नदीको डिलमा अर्ध–नग्न अवस्थामा शुक्रबार फेला परेपछि बलात्कारपछि हत्या भएको आशंका गरिएको हो ।
जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पञ्जियार शुक्रबार मृत फेला परेकी हुन् । हराएको तेस्रो दिन रोपाहारहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीका अनुसार आँप बगैँचानजिकै नदीको डिलमा अर्ध–नग्न अवस्थामा बालिकाको शव भेटिएको हो ।
शुक्रबार मध्याह्न बस्तीभन्दा एक किलोमिटर पर दूधमती नदीमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै केही भन्न सकिने डीएसपी कार्कीले बताए । शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।
बुधबार बिहान ११ बजे भैंसी चराउन गएकी कञ्चन अबेर रातिसम्म घर नआएपछि खोजी सुरु भएको थियो ।





प्रतिकृया