मध्यपुर थिमि नगरपालिकामा ५४ जनाको रिपोर्ट नेगेटिभ
प्रकाशित मिति
२०७७ बैशाख ७ गते, आईतवार १२:३५
भक्तपुर, मध्यपुर थिमि नगरपालिकामा विदेशबाट फर्किएका ५४ जनाको कोरोना परिक्षण गरिएको छ । नगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमा क्वारेन्टाइनमा बसेका व्यक्तिको नमुना संकलन गरी कोभिड–१९ परीक्षण गरेको नेपाल कोरिया मैत्रि नगरपालिका अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. ज्ञानकृष्ण कायस्थले जानकारी दिनुभयो ।

१५ देशबाट गत चैत्र महिनामा मध्यपुर थिमि नगरपालिका भित्र आएर बसेका सबैको रिपोर्ट नेगेटिभ आएको पनि अस्पतालले जनाएको छ । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया अस्पतालमा १६ बेडको आइसोलेसन वार्ड र थप २० बेडको क्वारेन्टाईन तयारी अवस्थामा रहेको मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले शंकास्पद व्यक्तिको आरडिटी र पिसिआर दुवै विधिबाट कोभिड–१९ को परीक्षण नेपाल कोरिया अस्पतालबाटै भइरहेको जानकारी पनि दिनुभयो ।
लक डाउनका फाईदाहरु

झट्ट सुन्दा अचम्म लाग्न सक्छ किनकी बन्द र लकडाउनका पनि फाइदा हुन्छन् र ? तर लक डाउनका धेरै वेफाइदाहरु देखिएता पनि केही फाइदाहरु पनि छन् ।
१) कोरोना लगायतका सरुवा रोगको संक्रमण फैलिएनन् ।
२) सवारी साधन अनि कलकारखाना नचल्दा वातावरण प्रदुषण घट्यो ।
३) सडक मर्मत अनि मार्किग गर्न सहज भयो ।
४) घरमै खाना खाएर बसेका कारण पैसाको बचत भयो ।
५) नयाँवर्ष अनि जात्रामा घुम्न जाँदा हुने खर्च बच्यो ।
६) स्थानीयदेखि जनप्रतिनिधि सम्मले पशुपति क्षेत्रका बाँदर अनि कुकुर र अन्य पशुलाई पनि सम्झेर खानेकुरा दिन पाए ।
७) घरपरिवार अनि बृद्ध मातापिता र केटाकेटीसँगै २४ सै घण्टा १ महिना भन्दा बढि समय बस्न पाए ।
८ सय बढिलाई राहत वितरण
सागर गुरागाई, मध्यपुर थिमि नगरपालिका वडा नं. ४ द्धारा उक्त वडामा बसोबास गरि रहेका दैनिक ज्यालादारी मजदुर एवं निम्न वर्गका ८ सय बढि परिवारलाई राहत वितरण गरिएको छ । चामल, दाल, चिउरा, नुन, तेल लगाएतका खाद्य सामाग्री परिचय पत्र वा नागरिकताको फोटोकपिको आधारमा विपन्न वर्गलाई खाद्यान्न राहत वितरण गरिएको उक्त वडाका वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दुइ चरणमा वितरण गरिएको खाद्यन्न राहत गत चैतको तेस्रो हप्ता र बैशाखको पहिलो हप्ता स्थानीय बालकुमारीबाट वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मध्यपुर थिमि नगरपालिकाले प्रत्येक वडालाई छुट्याएको ५ लाख रुपैयाबाट उक्त राहत वितरण गरिएको र मानविय आस्था नेपाल, बाबा सहकारी, सूर्यदर्शन सहकारी, भक्तपुर उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा, टि.भि. प्वाईन्ट शंखधरचोक लगायतका संघसंस्थाको आर्थिक र भौतिक सहयोगमा उक्त राहत वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा मध्यपुर थिमि नपाकी उपप्रमुख अन्जनादेवि मर्धिकर्मी, जिल्ला समन्वय समिति भक्तपुरका सदस्य उमेश श्रेष्ठ, वडा नं. ४का वडाध्यक्ष कुमार श्रेष्ठ, नससहरु रामकेशरी श्रेष्ठ र सुन्दरलाल श्रेष्ठको उपस्थिति थियो ।
राहत वितरण कार्यमा नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाकी सभापति पूर्णकेशरी श्रेष्ठ लगायतका रेडक्रसकर्मी, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठ, नेपाली सेना गठ्ठाघर, महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी प्रमुख लगायत स्थानीय जनआदर्श क्याम्पसका प्रमुख दुर्गा मोहन श्रेष्ठ, वडा नं. ४का कर्मचारीहरु लगायतले स्वयमसेवकको रुपमा सहयोग गर्नुभएको थियो ।
मथिनपा ४ वडा भित्र अस्थाई रुपमा बसोबास गर्ने दैनिक ज्यालादारी मजदुरका परिवार एवं स्थानीय विपन्न परिवारलाई राहत वितरण गरिएको छ । राहतमा १० किलो चामलका साथै अन्य दैनिक उपभोग्य सामाग्री समावेश गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । लकडाउन बैशाख १५ पछि पनि बढ्ने अवस्था आएमा पुनसहयोगी संघसस्था, व्यक्ति एवं नगरपालिकासंगको समन्वय र सहकार्यमा राहत संकलन गरि वितरण गर्न सकिने महिला नसस रामकेशरी श्रेष्ठले बताउनु भयो ।



प्रतिकृया