कोरोनाभाइरस नियन्त्रण गर्ने प्रयासमा यि पाँच राष्ट्र
प्रकाशित मिति
२०७६ फाल्गुन १७ गते, शनिबार ०५:०३
एजेन्सी, चीनबाट फैलिएको नोवेल कोरोनाभाइरस हाल विश्वका ५६ देशमा फैलिएको छ । विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र विस्तार भइरहेको जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाइ छ । यसलाई नियन्त्रण गर्ने प्रयासमा चीनमा सहर नै बन्द गरिएको छ भने इटलीमा फुटबल खेल रद्द गरिएको छ ।
पाँच देशमा कोरोनाभाइरस नियन्त्रण गर्ने प्रयास कसरी भइरहेको छ ?
दक्षिण कोरिया: दक्षिण कोरियामा सोलमा रेल र बस सेवालाई भाइरसविहीन बनाइएको छ । अधिकारीहरुले सबैभन्दा उच्चस्तरको सुरक्षा जोखिम घोषणा गरेका छन् भने डाएगु शहरमा नाकमुख ढाक्ने मास्कका लागि सबैभन्दा लामो लाम लागेको छ ।
पाकिस्तान: पाकिस्तानले इरानसँगको सीमा बन्द गरेको छ । किनकी नयाँ संक्रमण देखिँदा त्यस क्षेत्रमा डर बढेको छ ।
इरान: इरानी सरकारी टिभीले मास्कहरु उत्पादन भइरहेको भिडियो देखाएको छ । इरानले कुनै बस्ती र सहरलाई क्वारन्टीन गर्ने योजना बनाएको छैन । यता कोरोनाभाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २ सय १० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् भने ६ गुणा बढी संक्रमित भएको जनाएका छन् ।
यसमध्ये एक उप–स्वाीथ्यमन्त्री समेत रहेको इरान स्वास्थ्य मन्त्रालयले जनाएको छ ।इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।
शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।
इटली: युरोपमा कोरोनाभाइसरबाट सबैभन्दा बढी प्रभावित देश इटली हो । यो भाइरसका कारण फुटबल खेलहरु रद्द भएका छन् । देशको उत्तरी भागका सडकमा अवरोधहरु राखिएका छन् । त्यहाँका धेरै बस्तीहरु क्वारन्टीनमा छन् ।
चीन: चीनको वुहानमा अधिकारीहरु अझै सो भाइरसलाई फैलनबाट रोक्ने प्रयास गरिरहेका छन् । सो सहर अझै बन्द अस्वथामा रहेको छ ।
यता वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोनाभाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा २ हजार ८ सय ७३ व्यक्तिको मृत्यु भएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ ।
विश्वभर कूल ८३ हजार ८ सय ५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ ।






प्रतिकृया