• २४ भदौ २०८३, बुधबार
  • ६ः३१ बेलुका

नेपालकी मीरा राई विश्वकै साहसिक महिलाको सूचीमा

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार १०:०५

साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन्। लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन्।

National Life

पुस्तकमा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको विकट दुम्माना गाउँको गरीब परिवारमा जन्मिएकी मीराको विश्वचर्चित ट्रेल रनर बन्दासम्मको असाधारण यात्रालाई रोचकतापूर्वक वर्णन गरिएको छ । चेली क्यारोलको इलुस्ट्रेसन कलाले मीराको जीवन यात्रालाई अझ जीवन्त तुल्याएको छ।

मीराका लागि सक्ने भएदेखि नै गाउँमा घाँसदाउराका साथै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो । आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली–ओराली गर्दा उनलाई अल्ट्रा म्याराथन खेल संसारमा हुन्छ भन्ने थाहै थिएन।

Classic Tech Mobile
Classic Tech Desktop

जसोतसो एसएलसी पास गरेपछि अब के गर्ने, कसरी पढ्ने भन्ने कुराले उनलाई सताउन थाल्यो । गरीब परिवारसामु थप दुःख गर्नुबाहेक उपाय पनि थिएन। साथीहरूको लहलहैमा उनी १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन्।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि मीरा अयोग्य लडाकूको सूचीमा परिन् । सरकारले मात्र होइन, आफ्नै पार्टीले समेत अयोग्य भनेपछि उनी घर पनि फर्कन सकिनन् । घर फर्कन पनि नसकिने र जागिर पनि नपाइने त्यो बेला थुप्रै ‘अयोग्य’ लडाकू जिल्लामै सानोतिनो काम गर्न थाले।

काठमाडौंमा उनकी साथी थिइन्, अनुपमा मगर । अनुपमा पनि मीराजस्तै माओवादी लडाइँमै सहभागी थिइन्।

उनै अनुपमाले मीरालाई काठमाडौं आउन र कराँते खेल्न प्रोत्साहित गरिन् । उनै अनुपमा जसले १३ औं सागमा नेपाललाई कराँतेमा स्वर्ण पदक दिलाइन्। कराँते खेल्दै गर्दा मीराले एकपटक काम गर्न मलेशिया जाने बारे पनि सोचिन् । तर, गुरु ध्रुवविक्रम मल्लले केही समय धैर्य गर्न सल्लाह दिंदै अल्ट्रा म्याराथन बारे पनि जानकारी दिए । डाँडापाखा दौडने पनि खेल हुन्छ भनेर पहिलोपल्ट थाहा पाइन्।

त्यसपछिकी मीरा आज विश्वसामु छिन् । सन् २०१५ देखि दौडन थालेकी मीराले अधिकांश दौडमा प्रथम स्थान हासिल गरेकी छन् । फ्रान्समा सन् २०१५ मा भएको प्रतियोगितामा उनी विश्वविजेता बनेकी थिइन्।

मीरालाई नेशनल जियोग्राफिक पत्रिकाले सन् २०१७ मा ‘एडभेञ्चर अफ द इयर’ बाट सम्मानित गरेको थियो। मीरा अहिले पनि दौडिरहेकी छन् । यसका साथै उनी आफूजस्तै पृष्ठभूमि भएका बालिकाहरूलाई म्याराथन सिकाउने अभियानमा पनि लागिरहेकी छन्।

आफैं पनि साहसिक खेलकी सौखिन लेखिका ड्यूले पुस्तकमा मीराबाहेक आन डानियल्स, जिन जियोङ, कारेन डार्के, सराह आउटेन, इम्मा तिमिस लगायतको कथा समेटेकी छन् । हिमाल खबरबाट

प्रतिकृया