रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
प्रकाशित मिति
२०८३ आश्विन २० गते, मंगलवार ०१:५०
२० असोज २०८३ काठमाडौं – भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो ।
विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढंगले पुनर्निर्माण’ अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि अघि बढेपछि आर्थिक क्रियाकलापमा सुधार आउने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने बैंकको प्रक्षेपण छ ।
बाढीबाट जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा ठूलो क्षति पुगेकाले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमन प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा आएको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने विश्व बैंकको आकलन छ । कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रमा जनजीविकामा उल्लेखनीय असर पर्न सक्ने प्रतिवेदनले जनाएको छ ।
विश्व बैंकका अनुसार रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । यसलाई सडक, सञ्चार, ऊर्जा, खानेपानी, सरसफाइ, स्वास्थ्य र शिक्षालगायतका आधारभूत पूर्वाधारलाई जलवायु परिवर्तन तथा बहुविपद्को जोखिमअनुकूल पुनर्निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।
नेपाल उद्धार तथा राहतबाट पुनर्निर्माणतर्फ अघि बढ्दै गर्दा क्षतिग्रस्त संरचना पुनर्स्थापना गर्ने कार्यमा मात्र सीमित नरही बहुविपद् जोखिमको अद्यावधिक मूल्याङ्कन गर्न विश्व बैंकले सुझाव दिएको छ । पूर्वाधारको स्थान र डिजाइनमा सावधानी अपनाउन तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, विपद् पूर्वसूचना प्रणाली सुदृढ गर्न तथा संकटमा परेका परिवारलाई विपद्पछिको सहायता छिटो उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्नुपर्नेमा बैंकले जोड दिएको छ । प्रतिवेदनले दक्षिण एसियाको अर्थतन्त्र पनि विश्लेषण गर्दै सन् २०२६ मा यस क्षेत्रको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२७ मा भने वृद्धिदर ६.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
विश्व बैंकले दक्षिण एसियामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएको उल्लेख गर्दै यसबाट श्रम उत्पादकत्व वृद्धि, निर्यातका अवसर विस्तार तथा सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन सकिने जनाएको छ । एआईको प्रभावकारी प्रयोगका लागि जनशक्तिको सीप विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा भौतिक र डिजिटल पूर्वाधारमा सुधार गर्नुपर्ने बैंकको सुझाव छ । साथै, एआईसम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्दै तथ्यांकको सुरक्षा, गोपनीयता र नियमन सुनिश्चित गर्ने स्पष्ट








प्रतिकृया