आज इन्द्रजात्रा मनाइँदै, कुमारीको रथयात्रा मुख्य आकर्षण
प्रकाशित मिति
२०८३ आश्विन ९ गते, शुक्रबार ०६:३५
९ असोज २०८३ काठमाडौं — काठमाडौं उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज विभिन्न परम्परागत अनुष्ठानसहित मनाइँदैछ । हिन्दु तथा बौद्ध परम्परा, जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा तथा विभिन्न देवीदेवताका परम्परागत नृत्य इन्द्रजात्राका मुख्य आकर्षण हुन् । स्थानीय नेवार समुदायको संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको यो पर्व वर्षा, सहकाल र समृद्धिसँग समेत सम्बन्धित छ ।
इन्द्रजात्राको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो । देवी तलेजुको प्रतिनिधिका रूपमा मानिने कुमारीलाई रथमा राखेर काठमाडौंका पुराना बस्ती हुँदै नगर परिक्रमा गराइन्छ । रथयात्राका क्रममा सर्वसाधारणले कुमारीको दर्शन तथा पूजाआजा गर्ने परम्परा छ ।
पर्वका क्रममा भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वज स्थापना गरी पूजा गर्ने परम्परा रहेको छ । इन्द्रध्वजलाई विजय, समृद्धि र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार देवता र असुरबीचको युद्धमा देवताहरूको विजयपछि इन्द्रध्वज पूजाको परम्परा सुरु भएको विश्वास गरिन्छ ।
इन्द्रजात्रामा इन्द्र, भैरव, गणेश, कुमारी तथा विभिन्न देवीदेवताका स्वरूपको पूजा तथा सांस्कृतिक प्रस्तुति गरिन्छ । बौद्ध शाक्य समुदायबाट छनोट गरिने बालिकालाई कुमारीका रूपमा प्रतिष्ठित गर्ने परम्परा भए पनि कुमारीलाई हिन्दु तथा बौद्ध दुवै समुदायले श्रद्धापूर्वक पूजा गर्ने गरेका छन् ।
यसरी धार्मिक आस्था, ऐतिहासिक परम्परा, सांस्कृतिक पहिचान र सामुदायिक सहभागिताको समन्वयका कारण इन्द्रजात्रा काठमाडौं उपत्यकाको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ ।






प्रतिकृया