प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
प्रकाशित मिति
२०८३ भाद्र ३१ गते, बुधबार ०१:४०
३१ भदौ २०८३ काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले आज शिष्टाचार भेटवार्ता गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे। प्रधानमन्त्री शाहले रसुवाको बाढीबाट नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए। उनले जलवायु परिवर्तनको असरका कारण यस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै जलवायुजन्य विपद् जोखिम न्यूनीकरण र प्रभाव सम्बोधनका लागि विश्वव्यापी सहकार्य तथा सामूहिक प्रयास थप सुदृढ गर्नुपर्नेमा जोड दिए।
भेटमा नेपालको पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे समेत छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्ने बताए।
त्यस अवसरमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।
उनले कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराइन्।






प्रतिकृया