• १५ भदौ २०८३, मंगलबार
  • ८:०६ बेलुका

बाढीले ४ जलविद्युत् आयोजना क्षतिग्रस्त, बैंकहरूको साढे ६ अर्ब रुपैयाँ लगानी जोखिममा

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ०८:००

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी रहेका चार जलविद्युत् आयोजनामा क्षति पुगेको छ। नेपाल बैंकर्स संघको प्रारम्भिक अध्ययनअनुसार बाढीबाट आयोजनाहरू क्षतिग्रस्त भएपछि बैंकहरूको करिब साढे ६ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ।

संघका अनुसार रसुवास्थित ५ मेगावाट क्षमताको मैलुङ खोला हाइड्रो आयोजनामा बाढीले क्षति पुर्‍याएको छ। उक्त आयोजनामा एनएमबी बैंकको नेतृत्वमा २५ करोड ८० लाख रुपैयाँ संयुक्त कर्जा लगानी रहेको छ।

Kamana Sewa

त्यसैगरी, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएको छ। आयोजनामा बैंकहरूको करिब २ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी रहेको संघले जनाएको छ। उक्त आयोजनाको संयुक्त कर्जा लगानीको नेतृत्व लक्ष्मी सनराइज बैंकले गरेको थियो।

Classic Tech Mobile

रसुवा बाढीका कारण नुवाकोटस्थित ३७ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना पनि क्षतिग्रस्त भएको छ। सो आयोजनामा नबिल बैंकको ३ अर्ब ३० करोड रुपैयाँ लगानी रहेको छ। त्यस्तै, क्षतिग्रस्त रसुवागढी हाइड्रो पावर आयोजनामा पनि नबिल बैंकले ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

बैंकर्स संघका अनुसार रसुवा, नुवाकोट र धादिङमा बैंकहरूको लगानी रहेका आठ जलविद्युत् आयोजना छन्। तीमध्ये चार ठूला आयोजनामा बाढीले क्षति पुर्‍याएको हो। संयुक्त कर्जा लगानी रहेका कारण प्रभावित आयोजनामा कुन बैंकको कति रकम जोखिममा परेको छ भन्ने विस्तृत विवरण भने अझै संकलन भइरहेको संघले जनाएको छ।

यता, बैंकहरूको लगानी रहे पनि ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ, हिरारत्न हाइड्रो र प्राइम हाइड्रोपावर आयोजनामा भने बाढीबाट क्षति नपुगेको बताइएको छ। ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ र हिरारत्न हाइड्रो निर्माणाधीन अवस्थामा रहेका छन् भने प्राइम हाइड्रोपावर लघु जलविद्युत् परियोजना हो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल कर्जाको निश्चित हिस्सा ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार बैंकहरूले जलविद्युत्सहित ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन्।

तर, भौगोलिक रूपमा जटिल क्षेत्रमा निर्माण हुने जलविद्युत् परियोजनामा प्राकृतिक विपत्तिको जोखिम उच्च हुने भएकाले बैंकहरूको लगानी पनि जोखिममा पर्ने गरेको बैंकरहरू बताउँछन्। रसुवा बाढीले जलविद्युत् क्षेत्रमा रहेको प्राकृतिक जोखिम थप स्पष्ट पारेको भन्दै आगामी दिनमा बैंकहरूको लगानी प्रवृत्तिमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिकृया