प्रधानमन्त्री बालेन शाह : पीडित परिवारलाई राज्यले एक्लो हुन दिँदैन
प्रकाशित मिति
२०८३ भाद्र १० गते, बुधबार ०८:०३
१० भदौ २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीबाट ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सरकारको साथ रहने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले देशलाई नै स्तब्ध बनाएको बताएका हुन्।
उनले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। बाढीमा परी घाइते भएका तथा अस्पतालमा उपचाररत नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले घाइतेको उपचार, बेपत्ताको खोजी र प्रभावित नागरिकको सुरक्षालाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताए।

प्रधानमन्त्री शाहका अनुसार बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई तत्काल उद्धार तथा खोजी कार्यमा परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएकामध्ये घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले जानकारी दिए।

घाइतेहरूको सहज तथा निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको उनले बताए। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनको भनाइ छ।
प्रभावित क्षेत्रमा मेडिकल टोली, चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री पठाइएको र आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय भइरहेको उनले बताए।
प्रधानमन्त्री शाहले बाढी प्रभावित स्थानीय तहमा आवश्यकताअनुसार खानेकुरा, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल गरिने बताएका छन्। बेपत्ता नागरिकको खोजीलाई तीव्र पार्दै क्षतिको विस्तृत विवरण संकलन गरिने र रातभर पनि उद्धार कार्य जारी रहने उनले बताए।
उनका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी आयोजनालाई प्राथमिकताका साथ पुनर्निर्माण गरिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनले बताए।
‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।’
उनले विपद्को समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई राहत र उद्धार अभियानमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।




प्रतिकृया