सुवा–नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन
प्रकाशित मिति
२०८३ भाद्र १० गते, बुधबार ०७:४५
१० भदौ २०८३ काठमाडौं – रसुवा र नुवाकोटमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत १९० जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि विभिन्न जलविद्युत् आयोजना, पावर हाउस तथा सबस्टेसनमा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्।
प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन्। त्यस्तै, चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र आसपासबाट १ जना सम्पर्कविहीन भएका छन्।

रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउस मर्मत कार्यमा संलग्न ४५ जना पनि सम्पर्कविहीन छन्।

यसैगरी, प्राधिकरणअन्तर्गत त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी सम्पर्कबाहिर छन्। चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक कर्मचारी र एक मिटर रिडरसमेत सम्पर्कविहीन भएका छन्।
त्यस्तै, त्रिशूली २२० केभी ३ बी सबस्टेसनमा ठेकेदारका तर्फबाट कार्यरत १६ जना कामदार सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले सम्पर्कविहीन कर्मचारीको अवस्था यकिन गर्न कठिनाइ भइरहेको छ।




प्रतिकृया