• ९ भदौ २०८३, बुधबार
  • ५:१७ बेलुका

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत जुटाउन मुख्यमन्त्री थापाको निर्देशन

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०४:५०

१० भदौ २०८३ काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा मुख्यमन्त्री थापाले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई तीव्रता दिन निर्देशन दिएका हुन्।

Kamana Sewa

उनले तत्काल घाइते तथा विपद्मा परेकाहरूको उद्धार गरी राहत वितरण गर्न, प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा उद्धार टोली परिचालन गर्न र विस्थापित तथा प्रभावित नागरिकका लागि खाना तथा आवासको व्यवस्था मिलाउन निर्देशन दिए। साथै, प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको तत्काल व्यवस्थापन गर्न पनि उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

Classic Tech Desktop

रसुवामा बाढीका कारण जनधनको क्षति भएपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउने तयारी गरेको छ।

मुख्यमन्त्री थापाले विपद्को समयमा सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै प्रभावित नागरिकले राज्यको उपस्थिति प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिए। उद्धार तथा राहतमा कुनै ढिलाइ हुन नदिन सम्बन्धित मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गर्नसमेत निर्देशन दिइएको छ।

बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्रीको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल गरेको थियो।

प्रतिकृया