आँखामा समस्या देखिएपछि प्रधानमन्त्री बालेन संसद्मा कालो चस्मा लगाएर जाने
प्रकाशित मिति
२०८३ भाद्र ९ गते, मंगलवार १२:०९
९ भदौ २०८३ काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आँखामा समस्या देखिएपछि संसद्मा कालो चस्मा लगाएर उपस्थित हुने भएका छन्। प्रधानमन्त्री शाहको सचिवालयले स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले केही समय कालो चस्मा लगाउन सुझाव दिएको जानकारीसहित संसद् सचिवालयलाई पत्र पठाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री शाहको साउन २२ गते आँखाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि चिकित्सक डा. सचित ढकालले आँखाको अवस्थालाई ध्यानमा राख्दै केही समय कालो चस्मा लगाउन सुझाव दिएका थिए। चिकित्सकीय सुझावसहितको पत्र प्रधानमन्त्रीको सचिवालयले साउन २६ गते संसद् सचिवालयलाई पठाएको हो।

यसअघि संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा लगाउन निषेध गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री शाहको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकको सुझावअनुसार कालो चस्मा लगाउने विषयमा संसद् सचिवालयलाई जानकारी गराइएको हो।

प्रधानमन्त्री शाहले भोलि प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। आँखाको स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार उनी कालो चस्मा लगाएरै संसद्मा उपस्थित हुने तयारीमा छन्।




प्रतिकृया