वर्षौंको राजनीतिक संघर्षपछि खगराज भट्ट बने सुदूरपश्चिमका मुख्यमन्त्री
प्रकाशित मिति
२०८३ श्रावण २९ गते, शुक्रबार ०२:०४
२९ साउन २०८३ धनगढी – नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले करिब चार वर्षअघि गरेको वाचा अन्ततः पूरा भएको छ। २०७९ को निर्वाचनका क्रममा देउवाले मुख्यमन्त्री बनाउने घोषणा गरेका खगराज भट्ट अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन्।
२०७९ मंसिर १७ गते डडेल्धुराको जोगबुडामा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भट्टलाई जिताएर पठाए मुख्यमन्त्री बनाउने बताएका थिए। सोही सभामा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए। प्रचण्डले समेत भट्टलाई मुख्यमन्त्री बनाउने समझदारी भएको बताएका थिए।

तर, निर्वाचनपछि बनेको राजनीतिक समीकरणका कारण देउवाको त्यो वाचा तत्काल पूरा हुन सकेन। एमाले र तत्कालीन माओवादी केन्द्रको गठबन्धनबाट संघदेखि प्रदेशसम्म सरकार बनेपछि सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बने। रावल नेतृत्वको सरकार भने एक महिनामै ढल्यो।

त्यसपछि कांग्रेसका कमलबहादुर शाह माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बने। राजनीतिक समीकरण फेरिँदै जाँदा भट्टको मुख्यमन्त्री बन्ने अवसर टर्दै गयो। अन्ततः नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई सुदूरपश्चिमको पाँचौं मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री नियुक्त भएपछि भट्टले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार सम्हाल्ने कार्यक्रम छ।




प्रतिकृया