• २९ साउन २०८३, शुक्रबार
  • १:२५ बेलुका

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिँदै

प्रकाशित मिति

२०८३ श्रावण २९ गते, शुक्रबार १२:१६

२९ साउन २०८३ हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले सोही दिन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौँडास्थित प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन्।

सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन बनाएर सरकार गठनको तयारी गरे पनि हालसम्म आवश्यक बहुमत जुटाउन सकेका छैनन्।

Kamana Sewa

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले भदौ ४ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो। नेपाली कांग्रेस संसदीय दलको बैठकले भने भदौ ३ गतेअघि नै विश्वासको मत लिने निर्णय गरेपछि बानियाँले भदौ १ गतेका लागि प्रदेशसभा बैठक आह्वान गर्न सचिवालयलाई पत्राचार गरेका हुन्।

Classic Tech Desktop

११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सांसदको उपस्थिति रहने भएकाले बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्नेछ। तर, मुख्यमन्त्री बानियाँको पक्षमा हालसम्म नेपाली कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसदको समर्थन मात्रै देखिएको छ। हाम्रो नेपाली पार्टी बानियाँ नेतृत्वको सरकारमा एक मन्त्रीसहित सहभागी छ। सरकार जोगाउन बानियाँलाई थप १५ सांसदको समर्थन आवश्यक देखिन्छ। प्रदेशसभामा नेकपाका २६ र एमालेका २५ सांसद छन्। यी दुई दल नयाँ सत्ता गठबन्धनमा रहेका छन्।

यस्तै, १२ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार गठनमा भूमिका नलिने निर्णय गरेको छ भने ३ सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) प्रतिपक्षमा रहने भएको छ। यससँगै मुख्यमन्त्री बानियाँका लागि भदौ १ गतेको विश्वासको मत निर्णायक बन्ने देखिएको छ।

प्रतिकृया