• १५ असोज २०८३, बिहीबार
  • ८ः५८ बिहान

घरटहरा भत्काएर विस्थापित हिरालालको मृत्यु : छानबिन र क्षतिपूर्तिसहित १२ बुँदे माग

प्रकाशित मिति

२०८३ श्रावण २९ गते, शुक्रबार १२:०२

२९ साउन २०८३ काठमाडौं –  वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा दुसादको मृत्युको घटनाप्रति परिवार तथा अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित सरकारी निकायलाई सम्बोधन गर्दै सरकारसमक्ष १२ बुँदे मागपत्र बुझाएका छन्। मागपत्रमा वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काउँदा प्रभावित परिवार लामो समयदेखि मानसिक दबाब र अनिश्चितताको अवस्थामा बाँच्न बाध्य भएको उल्लेख छ।

National Life

४७ वर्षीय हिरालालले आत्महत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे निष्पक्ष छानबिन गर्न परिवार तथा अधिकारकर्मीहरूले माग गरेका छन्। केही वर्षदेखि बसोबास गर्दै आएको घरटहरा भत्काइएपछि उनी कहिले कीर्तिपुर त कहिले बोढे क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा बस्न बाध्य भएको उनीहरूको भनाइ छ।

हिरालालको मृत्यु सामान्य घटना नभई राज्यको विस्थापन नीति, प्रशासनिक व्यवहार तथा भूमिहीन र अव्यवस्थित बसोबासीप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउने घटना भएको मागपत्रमा उल्लेख छ। राष्ट्रिय मानव अधिकार आयोग वा स्वतन्त्र न्यायिक छानबिन समितिमार्फत घटनाको अनुसन्धान गरी दोषी वा जिम्मेवार पदाधिकारीमाथि कारबाही गर्न माग गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मागपत्रमा मृतकको अन्त्येष्टि खर्च राज्यले व्यहोर्नुपर्ने, उनलाई भूमि तथा आवाससम्बन्धी नागरिक आन्दोलनका ‘शहीद’ घोषणा गरी सम्मान दिनुपर्ने र परिवारलाई दीर्घकालीन आर्थिक क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ। त्यस्तै, संविधान प्रदत्त आवासको हकअनुसार स्थायी तथा कानुनी स्वामित्वसहितको भूमि उपलब्ध गराउन, मृतकका बालबालिकालाई उच्च तथा प्राविधिक शिक्षासम्म पूर्ण छात्रवृत्ति दिन, परिवारका एक सदस्यलाई रोजगारी तथा आश्रित सदस्यलाई निःशुल्क स्वास्थ्य उपचार र सामाजिक सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ।

पूर्वसूचना र वैकल्पिक व्यवस्थापनबिनै घरटहरा भत्काउने तथा प्रभावितलाई होल्डिङ सेन्टरमा सार्ने कार्य तत्काल रोक्न पनि सरकारसँग आग्रह गरिएको छ। भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पारदर्शी छानबिन गरी स्थायी समाधान खोज्न र होल्डिङ सेन्टरको अवस्थाबारे मानव अधिकार आयोगबाट नियमित अनुगमन गरी सार्वजनिक गर्नसमेत माग गरिएको छ।

पीडित परिवारका अनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारीले राति मन्त्री प्रतिभा रावलसँग फोन संवाद गराएका थिए। त्यसक्रममा मन्त्री रावलले आफूले धनीपुर्जासहितको जग्गाका लागि पहल गरिरहेको बताउँदै परिवारलाई सहयोग गर्ने आश्वासन दिएको परिवारको भनाइ छ।

परिवारका अनुसार प्रमुख जिल्ला अधिकारीले परिवारका एक सदस्यलाई रोजगारी दिने जिम्मा लिएपछि हिरालालको शव परीक्षणका लागि शिक्षण अस्पताल (टिचिङ) मा राखिएको छ।

प्रतिकृया