किशोरी श्रेष्ठ पक्राउ परेपछि जनआस्था कार्यालयमा प्रहरीको छापा
प्रकाशित मिति
२०८३ श्रावण २८ गते, बिहीबार ०९:००
२८ साउन २०८३ काठमाडौं – प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान ललितपुर प्रहरीसँगको सहकार्यमा कार्यालयमा खानतलासी गरेको हो।
जनआस्था साप्ताहिकका सम्पादक किशोरी श्रेष्ठ बुधबार साँझ पक्राउ परेपछि प्रहरीले अनुसन्धानका क्रममा कार्यालयमा खानतलासी गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानको सिलसिलामा कार्यालयमा रीतपूर्वक खानतलासी गरिएको हो। प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा प्रयोग गरिएका कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएको उनले बताए।

श्रेष्ठविरुद्ध दीपिका सिंहले जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।

गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए। सोही विषयलाई लिएर परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिकृया