• २८ साउन २०८३, बिहीबार
  • १:३४ बेलुका

किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग

प्रकाशित मिति

२०८३ श्रावण २८ गते, बिहीबार १२:०४

२८ साउन २०८३ काठमाडौं – नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ। सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जारी गरेको विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको उल्लेख छ।

प्रकाशित समाचारका विषयमा कुनै गुनासो वा कानुनी आपत्ति भए प्रचलित कानुन तथा प्रेस काउन्सिलबाट स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्ने सोसाइटीको धारणा छ।

Kamana Sewa

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सोसाइटीले समाचार प्रकाशनकै कारण पत्रकारलाई त्रसित बनाउने गतिविधिप्रति आपत्ति जनाएको छ।

Classic Tech Desktop

सोसाइटीले पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुन पालना गर्नुपर्नेमा आफू स्पष्ट रहेको जनाउँदै कानुनी उपचार खोज्दा प्रेस स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार र प्रेससम्बन्धी स्थापित मान्यताको सम्मान हुनुपर्नेमा जोड दिएको छ।

पत्रकार श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको हो। उनको पक्राउपछि जनआस्था कार्यालयमा समेत प्रहरीले खानतलासी गरेको थियो।

नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको पक्राउ र कार्यालयमा गरिएको खानतलासीको विरोध गर्दै विनाशर्त रिहाइको माग गरेको छ। महासंघको अगुवाइमा पत्रकारहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्नासमेत दिएका छन्। नेपाल मिडिया सोसाइटीले स्वतन्त्र पत्रकारितामाथि हुने दबाब, हस्तक्षेप वा दमनविरुद्ध आफू निरन्तर खबरदारीमा रहने जनाएको छ।

प्रतिकृया