• २८ साउन २०८३, बिहीबार
  • १२:३४ बेलुका

१४ महिनादेखि तलब रोकियो, अस्तित्व संकटमा हेटौँडा सिमेन्ट

प्रकाशित मिति

२०८३ श्रावण २८ गते, बिहीबार १०:५९

२८ साउन २०८३ हेटौँडा। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग करिब तीन वर्षदेखि नियमित सञ्चालन हुन नसक्दा कर्मचारीले १४ महिनादेखि तलब पाउन सकेका छैनन्। चालु पुँजी अभावमा उद्योग पूर्ण रूपमा ठप्प भएपछि कर्मचारीको तलबसँगै सञ्चयकोष, बीमा, नागरिक लगानी कोष तथा अवकाशप्राप्त कर्मचारीको उपदानसमेत रोकिएको छ।

हेटौँडा उपमहानगरपालिका–९ लामसुरेमा रहेको उद्योगले कोइला र जिप्सन ढुंगा खरिद गर्न नसकेपछि उत्पादन बन्द भएको हो। यसअघि खरिद गरिएको कच्चा पदार्थको समेत भुक्तानी हुन नसकेपछि आपूर्तिकर्ताले नयाँ कच्चा पदार्थ दिन छाडेका छन्।

Kamana Sewa

उद्योगका निमित्त महाप्रबन्धक भक्तिराम श्रेष्ठले चालु पुँजीको अभावका कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको बताए। नियमित खर्च धान्ने आफ्नै स्रोत नभएको र कच्चा पदार्थ खरिदका लागि सरकारसँग कर्जा सुविधाको माग गरिए पनि ठोस निर्णय हुन नसकेको उनको भनाइ छ।

Classic Tech Desktop

उद्योगमा कार्यरत कर्मचारीहरू लामो समयदेखि तलब नपाउँदा आर्थिक संकटमा परेका छन्। २०७१ सालमा लोकसेवामार्फत पाँचौँ तहमा नियुक्त भएका ४२ वर्षीय कुमदेश झा १४ महिनादेखि तलब नपाउँदा पारिवारिक खर्च व्यवस्थापन गर्न कठिन भएको बताउँछन्। बैंकबाट लिएको ऋणको किस्ता तिर्नसमेत उनलाई समस्या परेको छ।

अर्का कर्मचारी ४२ वर्षीय दिपेन्द्रकुमार ठाकुरको अवस्था पनि उस्तै छ। दुई सन्तानका पिता ठाकुरले तलब नपाउँदा छोराछोरीको विद्यालय शुल्कसमेत तिर्न नसकेको बताएका छन्। कर्मचारीहरूले समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय, कर्मचारी व्यवस्थापन शाखालगायत सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराए पनि ठोस पहल हुन नसकेको बताएका छन्।

उद्योगको बक्यौता दायित्वसमेत बढ्दै गएको छ। उपलब्ध विवरणअनुसार स्थायी कर्मचारीको तलबबापत मात्रै १२ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। दक्ष तथा अदक्ष सप्लाई लेबरतर्फ १ करोड ५३ लाख २ हजार १५ रुपैयाँ, सुरक्षा सेवातर्फ १ करोड ८४ लाख २५ हजार रुपैयाँ र अतिरिक्त कार्य समयबापत ७२ लाख ४८ हजार ७२० रुपैयाँ बक्यौता छ।

त्यस्तै, चालु आर्थिक वर्षको सामूहिक सावधिक जीवन बीमाबापत १ करोड ८६ लाख रुपैयाँ, सञ्चयकोष कट्टी दायित्व १ करोड ७२ लाख ९३ हजार रुपैयाँ र नागरिक लगानी कोषतर्फ ३७ लाख ५३ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ। अवकाशप्राप्त कर्मचारीको उपदान दायित्व ४ करोड ९० लाख रुपैयाँ तथा तलब कट्टी दायित्व ६३ लाख २५ हजार रुपैयाँ पुगेको उद्योगको विवरणमा उल्लेख छ।

उमेर हदका कारण अवकाश पाएका ६५ भन्दा बढी कर्मचारीले समेत उपदान पाउन सकेका छैनन्। लामो समय सेवा गरेका कर्मचारीहरू उपदानका लागि सम्बन्धित सरकारी निकाय धाउनुपर्ने अवस्थामा पुगेका छन्।

कच्चा पदार्थ आपूर्तिकर्तालाई समेत उद्योगले ठूलो रकम तिर्न बाँकी छ। व्यवस्थापनका अनुसार एउटै आपूर्तिकर्तालाई मात्रै करिब १२ देखि १३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। पुरानो दायित्व भुक्तानी हुन नसकेपछि आपूर्तिकर्ताले नयाँ कच्चा पदार्थ दिन छाडेका हुन्।

हेटौँडा सिमेन्ट उद्योग पछिल्ला वर्षमा निरन्तर घाटामा छ। २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले आर्थिक वर्ष २०७४/७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो। त्यसयता भने उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ।

उद्योगका अनुसार निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु, कच्चा पदार्थको मूल्य वृद्धि, उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्नुपर्ने अवस्था, पुरानो मेसिनरी तथा भौतिक संरचना र पर्याप्त चालु पुँजीको अभाव आर्थिक संकटका प्रमुख कारण हुन्।

उद्योगलाई संकटबाट बाहिर निकाल्न व्यवस्थापनले उपयोगविहीन सरकारी जग्गा बिक्री गर्ने र नयाँ प्रविधि जडान गरी उत्पादन क्षमता बढाउने योजना अघि सारेको छ। हेटौँडा–९ लामसुरेमा उद्योगको करिब १२ बिघा उपयोगविहीन जग्गा रहे पनि बिक्रीका लागि उद्योग मन्त्रालयबाट हालसम्म अनुमति प्राप्त भएको छैन।

नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा २०३३ सालमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगमा ६५५ कर्मचारीको दरबन्दी थियो। अहिले भने १२० जना मात्रै कार्यरत छन्।

प्रतिकृया