• २२ साउन २०८३, शुक्रबार
  • ४:१८ बेलुका

विगतलाई दोष होइन, नयाँ काम गरेर देखाउन सरकारलाई खुश्बु ओलीको चुनौती

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार ०२:३८

२२ साउन २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने दिएको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले राष्ट्रियताको जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण रहेको बताउँदै त्यसबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।

Kamana Sewa

उनले हाल १६ वटा राजदूत पदका लागि करिब २ हजार ७ सय विज्ञहरूले आवेदन दिएको उल्लेख गर्दै नियुक्ति प्रक्रिया र मूल्याङ्कनका आधार पारदर्शी बनाउन सरकारसँग माग गरिन्।

Classic Tech Desktop

सरकारले बारम्बार विगत ३५ वर्षको प्रश्न उठाउने गरेकोप्रति टिप्पणी गर्दै ओलीले अब विगतको समीक्षा मात्रै नभई वर्तमान सरकारले परिणाम देखाउनुपर्ने धारणा राखिन्। उनले भनिन्, “३५ वर्षमा उहाँहरूले के गर्नुभयो भनेर अब नसोध्नुस्, ३५ वर्षमा उहाँहरूले नगरेको काम अब तपाईंहरूले गरेर देखाउनुस्।”

सांसद ओलीले सत्तापक्षका सांसदहरूलाई पनि प्रधानमन्त्रीसँग संवाद गरी राष्ट्रियताको विषयमा भएको त्रुटि सच्याउन पहल गर्न आग्रह गर्दै त्यसो भए आफ्नो विरोध अन्त्य हुने बताइन्।

उनले वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न चिकित्सक डिल्ली हरिजनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै माइतीघरमा आन्दोलनरत चिकित्सकहरूको मागप्रति सरकारको ध्यानाकर्षण गराइन्। समान कामको समान तलब, श्रम ऐनअनुसार कार्यघण्टा कार्यान्वयन तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गर्न उनले आग्रह गरिन्।

त्यसैगरी, मिटरब्याज पीडित र प्रहरीबाट ठगिएका सर्वसाधारणका समस्या समाधान गर्न तथा बजारमा देखिएको ग्यास अभाव न्यूनीकरणका लागि विद्युतीय चुलोमा भन्सार हटाउने र विद्युत् उपभोगमा लाग्ने भ्याट छुट दिने व्यवस्था गर्न पनि सांसद ओलीले सरकारलाई सुझाव दिइन्।

प्रतिकृया