• २१ साउन २०८३, बिहीबार
  • ७:०८ बेलुका

लुम्बिनी विकास बैंकको नाफामा २५३% को छलाङ, इम्पेरमेन्ट चार्जमा ठूलो गिरावट

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार १०:३५

२१ साउन २०८३ काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा खुद नाफासहित अधिकांश प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले ८५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २४ करोड ११ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको नाफा एक वर्षमै २५२.९६ प्रतिशतले वृद्धि भएको हो।

Kamana Sewa

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा १०८.५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

Classic Tech Desktop

कर्जा असुलीमा सुधार आएपछि बैंकले खराब कर्जा व्यवस्थापनका लागि छुट्याउने इम्पेरमेन्ट चार्जमा उल्लेख्य कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा ७७ करोड ८७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर गत आर्थिक वर्षमा १३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। यसले बैंकको नाफा वृद्धिमा महत्वपूर्ण योगदान दिएको देखिएको छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ रुपैयाँ ६५ पैसा रहेको EPS बढेर गत आर्थिक वर्षमा २३ रुपैयाँ ४८ पैसा पुगेको छ।

वित्तीय विवरणअनुसार बैंकको लाभांश वितरण क्षमता पनि सुदृढ बनेको छ। नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफासमेत समायोजन गर्दा कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

प्रतिकृया