• ११ साउन २०८३, सोमबार
  • ३:३३ बेलुका

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान, प्रतिफल फिर्ता लैजान सहजीकरण गर्ने प्रतिबद्धता

प्रकाशित मिति

२०८३ श्रावण १० गते, आईतवार ११:०३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीहरूले नेपालमा गरेको लगानीको प्रतिफल सहज रूपमा विदेश लैजान सक्ने व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले शनिबार आयोजना गरेको एक सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले प्रवासी नेपालीहरूलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे। उनले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत सुधार अघि बढाएको बताए।

Kamana Sewa

“एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मान्यताप्रति सरकार स्पष्ट रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले विदेशमा रहेका नेपालीहरूलाई नेपालको विकास र लगानी विस्तारका महत्वपूर्ण साझेदार तथा सद्भावना दूतको रूपमा व्याख्या गरे।

Classic Tech Desktop

उनले वर्तमान सरकारले सुशासन, सेवा प्रवाहमा सुधार र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै पछिल्लो एक सय दिनमा उच्च नैतिकता, मेरिटोक्रेसी र भ्रष्टाचारप्रति शून्य सहनशीलताको आधारमा उल्लेखनीय सुरुआत गरिएको दाबी गरे।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत कर, राजस्व, बजेट वितरण तथा लगानी प्रवर्द्धनका क्षेत्रमा नयाँ नीति लागू गरिएको जानकारी दिँदै प्रवासी नेपालीहरूबाट वैध विदेशी लगानी नेपाल भित्र्याउने अपेक्षा सरकारले गरेको बताए। उनले नेपालमा गरिएको लगानीको प्रतिफल फिर्ता लैजान सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार सरकारले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता अवधारणामार्फत प्रवासी नेपालीहरूको लगानी आकर्षित गर्ने प्रयास गरिरहेको छ। साथै, सरकारले थप के–कस्ता सहजीकरण गर्नुपर्ने हो भन्ने विषयमा स्पष्ट सुझाव दिन पनि उनले प्रवासी नेपालीहरूलाई आग्रह गरे।

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको समृद्धिका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै उनले देशको आर्थिक विकास र समृद्धिका लागि सबै नेपाली एकजुट भएर सहकार्य गर्नुपर्नेमा जोड दिए।

प्रतिकृया