• ८ साउन २०८३, शुक्रबार
  • ११:३३ बिहान

नेपालमा एक वर्षमा २२ लाखभन्दा बढी स्मार्टफोन आयात, ४८ अर्ब रुपैयाँ विदेशियो

प्रकाशित मिति

२०८३ श्रावण ८ गते, शुक्रबार ०९:१२

८ साउन २०८३ काठमाडौं- नेपालमा स्मार्टफोनको आयात उच्च दरमा कायम रहँदा गत आर्थिक वर्षमा मात्रै २२ लाख ५४ हजारभन्दा बढी स्मार्टफोन विदेशबाट भित्रिएका छन्। भन्सार विभागको तथ्याङ्कअनुसार चीन र भारतबाट आयात भएका यी स्मार्टफोनको कुल भन्सार मूल्य करिब ४८ अर्ब रुपैयाँ पुगेको छ।

तथ्याङ्कअनुसार चीन नेपालका लागि स्मार्टफोनको सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ। गत आर्थिक वर्षमा चीनबाट १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन आयात भएका छन्, जसको भन्सार मूल्य ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँ रहेको छ। यस्तै, भारत दोस्रो ठूलो आपूर्तिकर्ता बनेको छ। भारतबाट ३ लाख ६४ हजार ८४२ थान स्मार्टफोन आयात भएको छ, जसको भन्सार मूल्य १० अर्ब ९९ करोड ६ लाख रुपैयाँ पुगेको छ।

Kamana Sewa

चीन र भारतबाहेक अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, जापान, अष्ट्रेलिया, हङकङ, जर्मनी, क्यानडा, भियतनाम र बेलायतलगायत विभिन्न देशबाट पनि स्मार्टफोन आयात भएको छ। व्यवसायीहरूका अनुसार यी देशबाट मुख्यतः उच्च मूल्यका प्रिमियम स्मार्टफोन, विशेषगरी आइफोनजस्ता उपकरण भित्रिने गरेका छन्।

Classic Tech Desktop

स्मार्टफोनसँगै फिचर फोनको आयात पनि उल्लेख्य रहेको छ। ‘अदर टेलिफोन’ शीर्षकअन्तर्गत चीनबाट ९ लाख ६५ हजारभन्दा बढी तथा भारतबाट ४ लाखभन्दा बढी फोन आयात भएका छन्। सबै प्रकारका मोबाइल उपकरण जोड्दा एक आर्थिक वर्षमा करिब ३६ लाखभन्दा बढी मोबाइल सेट नेपाल भित्रिएको देखिन्छ।

मोबाइल आयातसँगै सरकारले उल्लेख्य राजस्व पनि संकलन गरेको छ। चीनबाट आयात भएका स्मार्टफोनबाट ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी र भारतबाट २ अर्ब ४ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ। अन्य मुलुकबाट आयात भएका स्मार्टफोन तथा फिचर फोनसमेत जोड्दा मोबाइल क्षेत्रबाट मात्रै करिब १० अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारी कोषमा जम्मा भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

भन्सार अभिलेखअनुसार अफगानिस्तान, अर्जेन्टिना, बहराइन, भुटान, बुल्गेरिया, कम्बोडिया, मलेसियालगायत विभिन्न देशबाट पनि सीमित संख्यामा मोबाइल उपकरण नेपाल भित्रिएका छन्। यसले वैदेशिक रोजगारीमा रहेका नेपालीमार्फत आउने उपकरण तथा साना परिमाणका व्यापारिक कारोबारको प्रभाव पनि देखाउने विश्लेषण गरिएको छ।

प्रतिकृया