सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
प्रकाशित मिति
२०८३ श्रावण ६ गते, बुधबार १२:०३
६ साउन २०८३ काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अन्तिम त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा करिब ४७ प्रतिशतले बढेको छ।
बैंकले गत आवमा ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आव २०८१/८२ मा बैंकको खुद नाफा ६० करोड ६७ लाख रुपैयाँ रहेको थियो। आम्दानीमा भएको वृद्धिले नाफा बढेको बैंकले जनाएको छ। बैंकको खुद ब्याज आम्दानी १६.८३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी २० प्रतिशतले बढेर २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफा पनि ५३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७.०६ रुपैयाँबाट बढेर २३.८३ रुपैयाँ पुगेको छ। यद्यपि, निष्क्रिय कर्जा (एनपीएल) भने ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पुँजी ५ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुगेको छ। बैंकले गत आवको अन्त्यसम्म ४५ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।




प्रतिकृया