विश्वविद्यालयका क्याम्पसमा अब १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०१:४५
३० असार २०८३ काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित देशका सात विश्वविद्यालय र तिनअन्तर्गतका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ । त्रिविसहित सात विश्वविद्यालयले सूचना जारी गर्दै शैक्षिक सत्र २०८३/०८४ देखि स्वीकृत कार्यक्रमअन्तर्गत विद्यार्थी भर्ना गर्दा कुल सिट संख्याको १० प्रतिशत सिट छात्रवृत्तिका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न प्रक्रिया अघि बढाइएको जनाएका छन् ।
छात्रवृत्ति सुनिश्चित गर्न त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले संयुक्त पहल गरेका हुन् । विश्वविद्यालयको परिपत्रअनुसार सम्बन्धित क्याम्पसहरूले भर्ना प्रक्रियामा जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ ।

छात्रवृत्तिका लागि छुट्याइएको १० प्रतिशत सिटमा सम्बन्धित विश्वविद्यालयको छात्रवृत्ति कार्यविधिअनुसार विद्यार्थी छनोट गरी भर्ना गरिने जनाइएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र मातहतका क्याम्पसमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताएका छन् ।




प्रतिकृया