भाषा, साहित्य र संस्कृतिको संरक्षण सबैको सामूहिक जिम्मेवारी : सभामुख अर्याल
प्रकाशित मिति
२०८३ असार २९ गते, सोमबार १२:०८
काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताएका छन्।
सोमबार काठमाडौंमा २१३औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी त्यसलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिए।

सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच नेपाली भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे। उनले भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनस्तरसँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न आवश्यक रहेको बताए।

उनले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयानुकूल रूपमा रूपान्तरण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। भानुभक्तको सम्मानमा गरिने हरेक कार्य नेपाली राष्ट्रियताको संरक्षण र मौलिकताको पहिचानसँग जोडिएको उनको भनाइ थियो।
कार्यक्रममा सभामुख अर्यालले नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ साहित्यकार महेश्वर शर्मा र संस्कृतिविद् डा. आना एम सिस्टरलाई सम्मान समेत गरेका थिए।




प्रतिकृया