एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
प्रकाशित मिति
२०८३ असार २५ गते, बिहीबार ०३:५२
२५ असार २०८३ काठमाडौं – नेकपा (एमाले) निकट युवाहरूले सञ्चालन गरेको ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गतको मत सर्वेक्षणले पार्टीभित्र व्यापक रूपान्तरण र नेतृत्व परिवर्तनको पक्षमा कार्यकर्ता तथा शुभेच्छुकको बलियो मत देखाएको छ।
असार १२ देखि २२ गतेसम्म सञ्चालन गरिएको सर्वेक्षणको प्रतिवेदन बिहीबार एमाले महासचिव तथा पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेललाई बुझाइएको अभियानकर्ता गजेन्द्र थपलियाले जानकारी दिए।

गुगल फर्ममार्फत गरिएको सर्वेक्षणमा स्वदेश तथा विदेशका १४ राष्ट्रमा रहेका एमालेका संगठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकले सहभागिता जनाएका थिए। अभियानको उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, संगठनात्मक पुनःसंरचना, पुस्तान्तरण र आन्तरिक लोकतान्त्रीकरणबारे धारणा संकलन गर्नु रहेको जनाइएको छ। सार्वजनिक नतिजाअनुसार ‘नेकपा एमाले हालकै अवस्थामा अघि बढ्न सक्छ?’ भन्ने प्रश्नमा ९१.४ प्रतिशत सहभागीले पार्टी रूपान्तरण आवश्यक रहेको बताएका छन्।

यस्तै, ९५.४ प्रतिशतले वर्तमान नेतृत्वको व्यवहार तथा आचरण सुधार गर्नुपर्ने बताएका छन् भने ९४.९ प्रतिशतले नेतृत्वको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सर्वेक्षणमा ८७.५ प्रतिशतले वर्तमान पार्टी नीति परिवर्तन गर्नुपर्ने मत दिएका छन् भने ८७.६ प्रतिशतले नेतृत्व परिवर्तनको पक्षमा मत व्यक्त गरेका छन्। हालकै नीति र नेतृत्व उपयुक्त रहेको मत दिने क्रमशः १०.५ प्रतिशत मात्र रहेका छन्।
त्यसैगरी ९१.४ प्रतिशत सहभागीले पार्टीको संगठनात्मक संरचना पुनःसंरचना गर्नुपर्ने बताएका छन्। पार्टी नेतृत्व चयनमा सबै संगठित सदस्यको प्रत्यक्ष मतदान हुनुपर्ने पक्षमा ८२.९ प्रतिशत तथा पार्टी वा संसदीय निर्वाचनमा एउटै पदमा बढीमा दुई कार्यकाल मात्र जिम्मेवारी लिन पाउने व्यवस्था हुनुपर्ने पक्षमा ८२.८ प्रतिशतले मत दिएका छन्।
एमाले पुनःसंरचनाको निकासबारे सोधिएको प्रश्नमा ४७.७ प्रतिशतले विशेष महाधिवेशन, २५ प्रतिशतले अर्ली महाधिवेशन र २४.४ प्रतिशतले केन्द्रीय कमिटीमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। नेतृत्व हस्तान्तरणका विषयमा ५०.२ प्रतिशतले केन्द्रीय कमिटीभित्रबाट नयाँ नेतृत्व आउनुपर्ने बताएका छन् भने २६.४ प्रतिशतले केन्द्रीय कमिटीबाहिरबाट नेतृत्व खोज्नुपर्ने र १६.७ प्रतिशतले पदाधिकारीभित्रबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
उमेर समूहका आधारमा सर्वाधिक ४३.७ प्रतिशत सहभागी ४० देखि ६० वर्ष समूहका रहेका छन्। ६० वर्षमाथिका ३७.१ प्रतिशत र १८ देखि ३० वर्ष उमेर समूहका १३.७ प्रतिशत सहभागी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।




प्रतिकृया